प्रदिप पन्त
बागलुङ, मंसिर २० गते । मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो ।
कुल नौ करोड ७७ लाख ७२ हजार ६१ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महायज्ञमा ८१ लाख ३७ हजार ४१० रुपियाँ खर्च भएको मूल आयोजक समितिका कोषाध्यक्ष सरिता गौतम खड्काले जानकारी दिनुभयो ।
महायज्ञबाट आएको रकमबाट खर्च कटाएर आठ करोड ९६ लाख ३४ हजार ६५१ रुपिया“ आश्रममा रहने उहाँले जानकारी दिनुभयो ।
नौ बर्षदेखि बागलुङ बजारमा अस्थायी रुपमा मावन सेवा आश्रमका रुपमा रहेको आश्रमले आफनै सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ । नियरघाटमा निर्माणाधीन भवनका लागि पाँच करोड खर्च भइसकेको र अन्य चार करोड लाग्ने भएपछि महायज्ञ आयोजना गरिएको थियो ।
लक्ष्यअनुसारको रकम संकलन भएकोले आगामी ६ महिनाभित्र भवनले पूर्णता पाउने मावन सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । अहिले बागलुङमा रहेको आश्रममा ६४ जना आश्रित छन् । पालनपोषण तथा रेखदेखमा मासिक १० लाख रुपियाँ खर्च हुनेगरेको आश्रमले जनाएको छ ।