रवीन्द्र उप्रेती
बर्दीबास, मंसिर २० गते । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका सशस्त्र नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालका अनुसार सशस्त्रले गरेको नियमित चेकजाँचको क्रममा भारतको बिहार, सीतामढी–पटदौरा ग्राम पञ्चायत सिराहीपट्टीका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरेको हो ।
हलखोरीस्थित सशस्त्रको बोर्डर आउटपोष्टका सशस्त्र प्रहरी निरीक्षक सुनिलकुमार दासको कमाण्डमा रहेको गस्तीले नेपाल–भारत सीमाक्षेत्रस्थित मरुवाहीबाट हलखोरीतर्फ आउँदैगरेको दासलाई अवैध हतियारसहित शनिवार नियन्त्रणमा लिएको थियो ।
कुर्मी सवार रहेको बीआर ०६ एवाई ६१७२ नम्बरको मोटरसाइकल रोकेर तलाशी गर्दा मोटरसाइकलको सिटमुनि लुकाइराखिएको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोली बरामद भएको ढकालले बताउनुभयो ।
पक्राउ परेका भारतीय नागरिक कुर्मीलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।