• २० मङ्सिर २०८२, शनिबार

लागूऔषधसहित दुईजना पक्राउ

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), मंसिर २० गते । बर्दियामा ५० ग्राम ९७० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा एक जना नाबालक र अर्का गुलरिया नगरपालिका वडा ११ लालपुर बस्ने २६ वर्षिय प्रवेश चमार रहेको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट सादा पोसाकमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

बढैयाताल गाउँपालिका वडा ६ मैनापोखर बजारस्थित मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर, एक सानो डिजिटल तराजु, मोबाईल र बागमति प्रदेश ०२०२७ प ०७४१ नं को यामाहा मोटरसाईकल फेला परेको छ । 

ठुलो परिणाममा ब्राउन सुगर र डिजिटल तराजु फेला परेको हुनाले लागुऔषध कारोबार गरिरहेका हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।