• २० चैत २०८१, बुधबार

अब रैती बन्न चाहन्नन् नेपाली

blog

नेपाली जनता वंश परम्पराको दासत्व स्विकार्न तयार छैनन् । रगतसँग साटेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । गणतन्त्र संसारकै उन्नत व्यवस्था हो । यस व्यवस्थामा सबैलाई अटाउने ठाउँ छ । जनताको मन जितेर सत्तामा जाने, राष्ट्र र जनताको सेवा गर्न पाउने अधिकारको प्रत्याभूति गरेको यो जस्तो उन्नत शासन व्यवस्था अर्को छैन । यो व्यवस्थाले सबैलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने, आफ्ना कुरा राख्न पाउने, चाहेको जनप्रतिनिधि छान्न पाउने अधिकारको सम्मान गरेको छ । पूर्ण नागरिकसहितको हैसियत र अधिकार पाएका नेपाली जनता अब कसैको उक्साहटमा रैती बन्न चाहँदैनन् । सात दशकदेखिको निरन्तर सङ्घर्ष स्वरूप संविधान सभाबाट बनाइएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान अहिलेसम्मको उत्कृष्ट संविधान हो । यो संविधान विश्वकै उत्कृष्ट संविधानमध्येमा पर्छ । संविधानले कसैलाई काखा कसैलाई पाखा गरेको छैन ।  

२४० वर्षको राजतन्त्र र १०४ वर्षको जहानियाँ राणातन्त्रले नेपाली जनतालाई रैती बनाएर चरम गरिबीमा राखे । मुलुकको उन्नति र प्रगति भएन । त्यही भएर नेपाली जनताले रगत बगाएर दुवै तन्त्र फालेर सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नागरिक बनेका हुन् । संविधान सभाबाट २०७२ सालमा नयाँ संविधान बनाएपछि मुलुकले नयाँ गति लिएको छ । यो संविधानमा सबैलाई अटाउने ठाउँ छ । अब मुलुकमा राजनीतिक आन्दोलन गर्नुपर्ने अवस्था छैन । सबैको ध्यान देशको विकास, निर्माण, प्रगति र समृद्धितर्फ केन्द्रित भएको छ । देशका प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाई मुलुकमा राजनीतिक स्थिरता कायम गर्न प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओली समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य अघि सार्नु भएको छ । आमनेपालीको चाहना पनि मुलुक समृद्ध होस् र सुखसँग बाँच्न पाइयोस् भन्ने नै रहेको छ । 

नेपाल समृद्ध भएको र नेपाली सुखी भएको देख्न नचाहने, नेपाललाई सधैँ अस्थिर बनाएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने स्वदेशी तथा विदेशी तत्वले फेरि धमिलो पानीमा माछा मार्ने प्रयास गर्दै छन् । जनताले फालेको राजतन्त्र फेरि बिउँतिन सक्दैन । राजतन्त्र बिउँताउन सकिन्छ कि भनी केही यथास्थितिवादी परिवर्तनविरोधी शक्ति सडकमा देखिन थालेका छन् । यो भ्रम मात्रै हो । जनतालाई झुक्याउन सकिन्छ कि भनी विभिन्न दुष्प्रयास गरिँदै छ । अब कसैले चाहेर मुलुक पछाडि फर्कन सक्दैन ।  

नेपाली कांग्रेस र वाम शक्ति मिलेर गरिएको आन्दोलनले २००७ सालमा १०४ वर्षीय जहानियाँ राणाशासन अन्त्य भई मुलुकमा प्रजातन्त्र आयो । नेपाली जनता रैतीबाट नागरिक बने । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएर जनताको सरकार बनायो । १८ महिनामै राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कु’ गरेर एकदलीय पञ्चायती व्यवस्था लादे । जनताका अधिकार खोसिए । जनता चरम गरिबीमा बाँच्न विवश भए । २०४६ सालमा नेपाली कांग्रेस र वाममोर्चा मिलर गरेको आन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य भई संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र आयो । जनताले आंशिक अधिकार पाए । २०५८ सालमा दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश विनास भएपछि ज्ञानेन्द्र संवैधानिक राजा बन्नुभएको हो । उहाँ संविधानको दायराभित्र बस्नुभएन । उहाँबाट २०६१ माघ १९ गते मुलुकको सत्ता हातमा लिई निरङ्कुशतन्त्र लाद्ने काम भयो । यो कुरा नेपाली जनतालाई सह्य भएन । 

नेपाली कांग्रेस, नेकपा (एमाले) र २०५२ सालदेखि सशस्त्र विद्रोह गरेको नेकपा (माओवादी)ले १२ बुँदे सहमति गरी २०६२/२०६३ सालको आन्दोलन सफलतासँगै मुलुकमा राजतन्त्र अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । संविधान सभाबाट जनताले आफ्नो संविधान आफैँ बनाए । यो संविधानले जनतालाई सबैखाले अधिकारको प्रत्याभूति गरेको छ । जनताले चाहे भने यसमा केही कुरा थपघट गर्न सकिन्छ । सबै अटाउन सक्ने लचियो यो संविधानको विकल्प खोज्नु भनेको मुलुकलाई पछाडितर्फ धकेल्नु हो । मुलुक र मुलुकवासीको प्रगति र समृद्धि देख्न नचाहने तत्वले फेरि अस्थिरता सिर्जना गर्न खोजेका छन् । त्यसलाई सबै मिलेर परास्त गर्नु पर्छ । जनताको यो व्यवस्थाविरुद्ध हत्या, हिंसा, आतङ्क, आगजनी, तोडफोड र लुटपाट गर्ने र गराउनेविरुद्ध सरकार निर्मम हुनै पर्छ । जनता हिंसा, हत्या, आतङ्क, तोडफोड, आगजनी, लुटपाट गर्दै व्यवस्था उल्टाउन चाहने तत्वकाविरुद्ध छन् । राजनीतिको आवरणमा संविधानविरोधी हिंसात्मक गतिविधि गर्ने जो कोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनै पर्छ । मुलुकमा अशान्ति र हिंसा मच्चाउने अधिकार कसैलाई पनि छैन ।