बुटवल समाचारदाता
बुटवल, चैत १७ गते । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिका क्रममा सडक किनारमा रहेका तीन सयभन्दा बढी वरपिपलका चौतारी (चौपारी) काटिएको छ । सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेका बेला पहिलो चरणमा सडक किनारमा रहेका करिब सात हजार रुख काटिएको छ भने त्यसमध्ये तीन सयभन्दा बढी वरपिपलका चौतारी कटानमा परेका छन् ।
बुटवल–गोरुसिङ्गे सडक आयोजना बुटवल प्रमुख कुशलता न्यौपानेले रुख र चौतारीको कटानको काम सकिएको र अब सडक किनारमा रहेका यात्रुका बनेको प्रतीक्षालयसमेत हटाउन सुरु भएको जानकारी दिनुभयो । सडक किनारका रुख, चौतारी र यात्रु प्रतीक्षालयसमेत हटाउँदा अहिले बुटवल–गोरुसिङ्गे सडकखण्ड उजाड देखिएको छ ।
वन तथा वातावरणविज्ञ युवराज कँडेलले बुटवलदेखि गोरुसिङ्गेसम्मको करिब ५० किलोमिटर सडकखण्डमा करिब तीन सय वरपिपल र शमीका चौतारी काटिएको बताउँदै वातावरणका दृष्टिले चिन्ताजनक कुरा भएको बताउनुभयो । गर्मीमा वरपिपल र शमीको चौतारीमा बस्दा गर्मीको महसुस नहुने तथा स्थानीय ज्येष्ठ नागरिकलाई यी चौतारी दिन कटाउने माध्यम बनेका थियो ।
बुटवल–१७, तामनगरका स्थानेश्वर पौडेलले विकासका लागि सडक विस्तार हुनु खुसीको कुरा भए पनि सडक किनारका वरपिपलका चौतारी काटिएकामा निकै दुःख लागेको बताउनुभयो । उहाँले आफूहरू जस्ता धेरै ज्येष्ठ नागरिक यिनै वरपिपल र शमीका चौतारीमा बसेर दिन कटाउने गरेकोमा अब सबै काटिएपछि बसिबियाँलो गर्ने ठाउँसमेत नहुने कुराले पिरोलेको बताउनुभयो ।
वातावरणविज्ञ युवराज कँडेलले वरपिपल र शमीका चौतारी मासिँदा वातावरणमा असर पर्ने भन्दै सडकलाई बाधा नपर्ने गरी सडक छेउछाउमा रुखबिरुवा लगाउनुपर्ने बताउनुभयो । पण्डित पीताम्बर भुसालले हिन्दु धर्ममा वरपिपल र शमी हरेक मङ्गल कार्यमा आवश्यक पर्ने भन्दै जति काटिएको छ, त्योभन्दा धेरै लगाउन आग्रह गर्नुभयो । बुटवल–गोरुसिङ्गे सडक आयोजना प्रमुख न्यौपानेले करिब सात हजार रुख कटान भएकाले अब एक रुख बराबर १० रुख रोप्न आयोजनाले वन विभागलाई करिब चार करोड रुपियाँ उपलब्ध गराइसकेको बताउनुभयो । तत्कालीन राजा महेन्द्र शाहको पालामा २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम भइरहेको हो ।
बुटवल–नारायणगढ सडकमा जस्तो जनतालाई सास्ती नहोस् भन्ने उद्देश्यले बुटवल–गोरुसिङ्गे खण्ड विस्तार गर्दा अहिलेको पिच नभत्काई गर्ने पूर्वतयारी छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तारका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का लिएको हो ।
आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको हो । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाख रुपियाँमा ठेक्का लागेको हो । पहिलो चरणमा सडक विस्तारसँगै ३० वटा पुल निर्माण हुने छ भने १४९ वटा कलभर्ट पनि निर्माण हुने छ । आयोजनाका अनुसार सडक विस्तारको काम सहरी क्षेत्रमा ५० मिटर, सहरोन्मुख क्षेत्रमा ३७.४ मिटर र जङ्गल क्षेत्रमा २४ मिटर चौडाइ कायम हुने छ ।