• ११ वैशाख २०८२, बिहिबार

वाणिज्य बैँकको ७४औं काउन्टर सोलाबाङमा स्थापना

blog

एक्सटेन्सन काउन्टरको कार्यालय उद्घाटन गर्नुहुँदै पूर्वअर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
 रुकुमपश्चिम, वैशाख ११ गते ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ सोलाबाङ बजारमा राष्ट्रिय वाणिज्य बैँकको एक्सटेन्सन काउन्टर स्थापना भएको छ ।

बिहीबार एक कार्यक्रमका बिच पूर्व अर्थमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले काउन्टर कार्यालयको उद्घाटन गर्नुभएको हो । काउन्टर स्थापना कार्यक्रममा बोल्नुहुँदै शर्माले लामो समयको प्रयासपछि स्थानीयवासी र व्यवसायीहरूको मागको सम्बोधन भएको बताउनुभयो । उहाँले बैंकिङ सेवाको पहुँच हरेक सर्वसाधारण पुर्‍याएर सहज सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

यस अघि नीजि बैँकलाई अनुरोध गरेर शाखा खोल्ने प्रयास भएता पनि विफल भएको तर वाणिज्य बैँकले जनताको माग सुनुवाइ गरेको उहाँको भनाइ छ । काउन्टर कार्यालयबाट हुने कारोबारको आधारमा शाखा कार्यालय बनाउन पहल हुने उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैँक रुकुम शाखाका प्रबन्धक हेमन्त न्यौपानेका अनुसार उक्त काउन्टर कार्यालयबाट ऋण लगानी बाहेकका अन्य सम्पूर्ण सेवा प्रवाह हुने छन् । कर्मचारी व्यवस्थापन भइसकेकोले सिस्टम जडान गरेर केहि दिनमै सेवा सूचारु हुने उहाँले जनाउनुुभयो । उहाँले खाता खोल्ने, रकम निकाल्ने, जम्मा गर्नेदेखि चेक क्लियरिङ, पेन्सन, सामाजिक सुरक्षा भत्ता, राजस्व, इबैंकिङ, सरकारी कारोबार लगायतका सेवा यस काउन्टरबाट हुने जानकारी दिनुभयो । ऋण लगानीको फाइल उठाएर नजिकै रहेको मुसीकोट शाखा कार्यालयबाट गर्न सकिने समेत बताइएको छ । 

देशभरी २९४ शाखा कार्यालय रहेको यस बैँकका ७४ एक्सटेन्सन (सोलाबाङसहित), ३१४ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । यस बैँकले सात प्रदेशका ७७ जिल्लामा सेवा प्रवाह गरिरहेको जनाएको छ । यसअघि रुकुमपश्चिमको मुसीकोट र चौरजहारीमा राष्ट्रिय वाणिज्य बैँकको शाखा कार्यालय स्थापना भएर सेवा प्रवाह भइरहेको छ ।