भैरहवा समाचारदाता
भैरहवा, असार २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ । शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री आचार्यले वृक्षरोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
“हामीले लगाएका बिरुवा संरक्षित हुनु अत्यन्त जरुरी छ,” उहाँले भन्नुभयो, “वनमा खेर जाने पातपतिङ्गर र झार सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा पनि सघाउ पुर्याउँछ ।”
मुख्यमन्त्री आचार्यले सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाई कृषि क्षेत्रसँग जोड्न सकिने बताउँदै प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई यसले थप टेवा पुर्याउने स्पष्ट पार्नुभयो । उहाँले वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभई उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा विस्तार गर्ने खालका कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षरोपण गर्ने लक्ष्य रहेको छ । खड्काले साउन १४ गतेसम्म झन्डै एक लाख बिरुवा वितरण भइसकेको जानकारी दिनुभयो ।
हाल जिल्लाभित्र छ वटा नर्सरीमा एक लाख ६३ हजार वटा वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा छन् । डिभिजन वन कार्यालयले तेजपात र टिमुरको विशेष खेती विस्तारको अभियान थालेको छ ।
कम्तीमा पाँच सय बिरुवा माग गर्नेका लागि कार्यालयले निःशुल्क ढुवानी गर्ने, रोपण कार्यमा सहजीकरणसमेत गर्दै आएको छ । हालसम्म टिमुरका २० हजार पाँच सय र तेजपातको १२ हजार नौ सय बिरुवा रोपण गरिएको छ । यो अभियान साउन १४ सम्म चल्ने कार्यालयले बताएको छ । बिरुवा रोपिएका क्षेत्रको प्रभावकारी अनुगमनका लागि जिपिएस लोकेसन प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।