• ११ वैशाख २०८२, बिहिबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ११ गते । ११ पालिका रहेको स्याङ्जामा हरेक वर्ष जस्तै पुतलीबजार नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । पुतलीबजार नगरपालिकामा सरोकारवालाले हस्ताक्षर गर्दे दिगोपनका लागि समेत प्रतिबद्धता जनाउनुभएको हो । 

पुतलीबजार नगर स्तरीय खोप समन्वय समितिको आयोजानामा पूर्ण खोप सुरक्षित भविष्य शिक्षा स्वास्थ्य र पूर्वाधार समुन्नत पुतलीबजारको आधार, स्थानीय श्रोतको सदुपयोग स्वामित्व र सहभागिता पूर्ण सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

पालिकाले १५ महिनाभित्रका बालबालिकाले लगाउनुपर्ने नियमित खोप पुरा भएको अवसरमा पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अनिशा सुवेदीले बताउनुभयो ।

घरधुरी सर्वेक्षणका आघारमा नगरभित्रका खोप लगाउन छुट भएका ५२३ जना बालबालिकालाई खोप लगाएपछि पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो । पूर्ण खोप पालिका घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक श्रीप्रसाद घर्तीले पूर्ण खोप कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिनुपर्ने कुराको आवश्यकता औंल्याउनुभयो । कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुनेमा समन्वय प्रमुख घर्तीको जोड थियो ।

कार्यक्रममा नगर प्रमुख तुलसीराम रेग्मीले स्वास्थ्य क्षेत्रमा पुतलीबजार नगरपालिका उत्कृष्ट बन्दै आएको बताउनुभयो । उहाँले खोपको निरन्तरताका लागि सबैको साथ र सहयोग महत्त्वपुर्ण हुने बताउनुभयो ।

सो अवसरमा निरन्तर पूर्ण खोप सुनिश्चित गर्ने साझा प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।