• ७ जेठ २०८१, सोमबार

‘गोरखापत्रको वितरणलाई प्रभावकारी बनाउन विशेष कार्ययोजना’

blog

तालिम समापनपछि सामूहिक तस्बिरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रवन्धक लालबहादुर ऐरीलगायत संस्थानका कर्मचारी ।तस्बिर : सागर बस्नेत

काठमाडौँ, जेठ २१ गते । गोरखापत्र दैनिक तथा यसका अन्य प्रकाशनहरुको वितरण प्रणालीलाई अझ प्रभावकारी बनाउन गोरखापत्र संस्थानको व्यवस्थापनले नयाँ कार्ययोजना अघि सारेको छ । वितरण प्रणालीमा देखिएका समस्या तथा नयाँ कार्ययोजना कार्यान्वयनका बारेमा छलफल गर्न संस्थानले शुक्रबार वितरकहरुका लागि अभिमूखिकरण कार्यक्रम आयोजना गरेको थियो । 


उक्त कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले वितरण प्रणालीलाई छरितो र प्रविधि मैत्री बनाउन नयाँ कार्ययोजना सहित काम थालिएको बताउनुभयो । कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र पत्रिका मात्र नभएर राष्ट्रको गौरव भएको पनि बताउनुभयो । 

गोरखापत्र संस्थानको वितरण विभागमा कार्यरत कर्मचारीहरूको अभिमुखीकरणका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गोरखापत्रले इतिहास, कला, संस्कृति, सभ्यतालगायत सम्पूर्ण देशको प्रतिनिधित्व गर्दै आएको चर्चा समेत गर्नुभयो । 


उहाँले अहिले समय परिवर्तन भएको र डिजिटल विश्वसँग प्रतिस्पर्धामा उत्रनुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, “किन पाठकले २४ घण्टा पर्खेर गोरखापत्र पढ्ने ? यो हाम्रो लागि चुनौतीका रूपमा देखा परेको छ । त्यसको समाधानका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।” 



उहाँले ‘स्मार्ट गोरखापत्र’को अभियान सुरु भइसकेको र प्रत्येक ग्राहकका हातमा पुग्न थालेको पनि बताउनुभयो । कार्यक्रममा गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले सबै मिलेर अगाडि बढे गोरखापत्रको भविष्य अझ उज्ज्वल रहेको बताउनुभयो । उहाँले संस्थानमा सुधार ल्याउन सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो । कार्यक्रममा ८० जना कर्मचारीको सहभागिता रहेको थियो ।





तस्बिर : सागर बस्नेत