• १७ चैत २०८१, आइतबार

नरैनापुरका अग्निपीडित परिवारलाई राहत वितरण

blog

आगलागीपिडित परिवारलाई राहत वितरण गर्दै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १४ गते । बाँकेको नरैनापुरका अग्निपीडितका १७ परिवारलाई १० हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडाबर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोती लगायतका लत्ताकपडा उपलब्ध गराएको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार गाउँमै पुगेर पीडित परिवारलाई प्रति परिवार दस हजार रुपियाँ बराबरको राहत वितरण गरिएको हो । नरैनापुरमा गत मङ्गलबार दिउँसो आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट भएका थिए। 

आगलागीबाट घरबारविहिन भएकाहरूलाई सुरुमा वडा नम्बर ४ को कार्यालयले तयारी खानेकुरा र बस्ने त्रिपाल लगायतको प्रारम्भिक राहात वितरण गरेको थियो । 

खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण सो आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरीका डिएसपी गजेन्द्र चन्दले बताउनुभयो । उहाँले आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको पनि बताउनुभयो ।

यो मौसम हावाहुरीको भएकोले आगलागीको सम्भावना अत्यधिक रहेको हुँदा सचेत रहन गाउँपालिकाले सबैसँग अपिल गरेको छ । हरेक वर्ष हावाहुरीको मौसममा नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।