• १८ असार २०८१, मङ्गलबार

ताप्लेजुङका स्थानीय तहमा कार्यपालिका सदस्य चयन

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २० गते । ताप्लेजुङका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका छन् । एक नगरपालिका र आठ गाउँपालिकासहित जिल्लाका नौ वटै स्थानीय तहमा कार्यपालिका सदस्य चयन भएका हुन् ।

जिल्लाका सबै स्थानीय तहमा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचन मार्फत पाँचवटा पालिकामा सत्ता गठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेका छन् । बाँकी चारवटा पालिकामा एमालेले बहुमत कायम गरेको छ । एकमात्र फुङ्लिङ नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सम्मिलित गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

यस्तै, गठबन्धनले सिरिजङ्घा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकामा कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचन मार्फत सुविधाजनक बहुमत प्राप्त गरेको छ । सत्ता गठबन्धनतर्फ केही स्थानीय तहको कार्यपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट समेत प्रतिनिधित्व भएको छ । 

एमालेले मेरिङ्देन गाउँपालिका, सिदिङ्वा गाउँपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको छ । यता स्थानीय तहको कार्यपालिका सदस्य चयनको प्रक्रिया सम्पन्न भएसँगै अब जिल्ला सभा तथा समन्वय समिति चयनको प्रक्रिया सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्ला समन्वय समिति चयनका लागि गठबन्धनसँग सुविधाजनक बहुमतको अवस्था रहेको छ । नौ स्थानीय तहमध्ये ६ मा गठबन्धन दल निर्वाचित भएको छ । गबन्धनतर्फ निर्वाचित हुनेमा काँग्रेसका एक प्रमुख र तीन अध्यक्ष, दुई उपाध्यक्ष, माओवादीका दुई अध्यक्ष, तीन उपाध्यक्ष र एकीकृत समाजवादीका एक उपाध्यक्षसमेत मत सङ्ख्या १२ रहेको छ । एमालेसँग तीन अध्यक्ष, एक उप्रमुख र दुई उपाध्यक्षसमेत मत सङ्ख्या ६ रहेको छ ।