जनार्जन खत्री
सर्लाही, चैत १२ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेर विवाह गर्ने १३ जना छोरीलाई सम्मान गरेको छ ।
गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बाल विवाह तथा भागी विवाह न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९-८० देखि २० वर्ष पुगेर विवाह गर्ने गाउँपालिकाभरिका छोरीलाई नगद ५० हजार रुपियाँसहित सम्मान गर्ने निर्णय गरेका थिए ।
सोही निर्णय बमोजिम चालू आर्थिक वर्ष २०८१-८२ को गत साउनदेखि अहिलेसम्म कक्षा १२ उत्तीर्ण भएका र २० वर्ष पुगेर विवाह गरेका १३ जना छोरीलाई सोमबार जनही ५० हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरिएको हो ।
सोही कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरी स्नातक तह पहिलो वर्षमा अध्ययनरत २३ जना छोरीलाई जनही ११ हजार रुपियाँ प्रदान गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । अहिले स्नातक तह पढ्दै गरेका छोरीलाई पछि विवाहका बेला गाउँ कार्यपालिकाको निर्णय बमोजिम ५० हजार रुपियाँ प्रदान गरिने चन्द्रगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो ।
१२ कक्षा उत्तीर्ण भएपछि २० वर्ष पुुगेर विवाह गर्ने छोरीलाई तत्कालै ५० हजार रुपियाँ दिइने र विवाह नगरी स्नातक तह अध्ययन गर्ने छोरीलाई ११ हजार रुपियाँ प्रदान गरी विवाह गरेपछि बाँकी ५० हजार रुपियाँ पनि प्रदान गरिने गाउँपालिका अध्यक्ष महतोले प्रष्ट पार्नुभयो ।
गाउँपालिकाभित्र ५० प्रतिशतभन्दा बढी बालविवाह र २० प्रतिशतभन्दा बढी भागी विवाह हुने गरेकाले त्यसलाई नियन्त्रण गर्ने उद्देश्यले उच्च शिक्षा हाँसिल गरी २० वर्ष पुुगेर मात्रै छोरीको विवाह गर्ने-गराउने परिपाटीको विकास गर्ने उद्देश्यले नगदसहित सम्मान गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।
यो कार्यक्रमपछि छोरीलाई उच्च शिक्षा अध्ययन गराउने र २० वर्ष पुगेपछि मात्रै विवाह गराउने प्रवृत्ति बढ्दै गएको गाउँपालिका अध्यक्ष महतोले दाबी गर्नुभएको छ ।
अतिविपन्न तथा दलित समुदायको बाहुल्यता रहेको चन्द्रनगर गाउँपालिकामा ती वर्ग र समुदायमा भने २० वर्ष पुगेपछि मात्रै विवाह गराउने प्रचलन बसाउन निकै सकस परिरहेको जनप्रतिनिधिले बताएका छन् ।