• ७ जेठ २०८१, सोमबार

अपाङ्गता भएका सबैले मासिक भत्ता पाउने

blog

रेखीराम राना

पाल्पा, जेठ २० गते । जिल्लाको बगनासकाली गाउँपालिकाका अपाङ्गता भएका सबै व्यक्तिहरूले मासिक भत्ता पाउने भएका छन् । बगनासकाली गाउँपालिका कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भई पहेँलो र सेतो कार्ड पाएका व्यक्तिलाई समेत मासिक भत्ता दिने निर्णय गरेको हो । 

कार्यपालिकाको बैठकले पालिकाभित्र अपाङ्गता भई पहेँलो र सेतो कार्ड भएकालाई मासिक पाँच सय र तीन सय रुपियाँ भत्ता दिने निर्णय गरेको गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीदर्लामीले बताउनुभयो । 

रातो र निलो कार्ड भएकाहरूले यसअघि नै मासिक भत्ता पाउँदै आएका थिए ।  अबदेखि पहेँलो र सेतो कार्ड भएका अपाङ्गता भएकालाई समेत भत्ता दिने निर्णय गरेका छौँ अध्यक्ष चिदीले भन्नुभयो । 

यस्तै, पालिकाको बैठकले लिफ्टिङ् खानेपानी योजनामा ६० प्रतिशत बिद्युत् महशुल पालिकाले बेहोर्ने, महिला स्वास्थ्य स्वयम्सेविका लाई मासिक एक हजार रुपियाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बैठकले हिंसापीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गरी हिंसा न्युनीकरण गर्र्ने निर्णय समेत गरेको छ ।