• ७ जेठ २०८१, सोमबार

मुख्यमन्त्री केसीको प्रतिवद्धता : विज्ञापन ऐन तत्काल ल्याउँछौं

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), जेठ २० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूहरुको कार्यकालमै कार्यान्वयनमा ल्याउनेगरी काम गर्न निर्देशन दिनुभयो । 

विज्ञापन बोर्डले शुक्रबार बुटवलमा आयोजना गरेको विज्ञापन आचारसंहिता एवम् विज्ञापन राष्ट्रिय नीति सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले बोर्डले तयार गरेको आचारसंहिता र नीतिलाई समेत हेरेर प्रदेशले ऐन बनाउने बताउनुभयो । संघीय सरकारले समयमै काम नगर्दा प्रदेशलाई पनि आफ्ना कार्यक्रम अगाडि बढाउन समस्या भएको बताउँदै उहाँले प्रदेशको विज्ञापन नीतिमा हेरफेर हुने चर्चा गर्नुभयो ।  

कार्यक्रममा बोल्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले विज्ञापन समग्र अर्थतन्त्रसँग जोडिएको विषय भएकाले ठोस योजना बनाएर अगाडि बढाउनु पर्ने बताउनुभयो ।  सोहीअनुसार प्रदेश सरकारले ऐन कानुन तथा नीतिहरु बनाउने र मुख्यमन्त्रीको निर्देशनअनुसार नै आफूहरुको कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ढिला भएपनि दुई वर्ष अगाडि ऐन आएपछि विज्ञापनलाई व्यवस्थित गर्न आफूहरु लागिपरेको बताउनुभयो । विज्ञापन नियमन गर्ने ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७६ को व्यवस्थाअनुसार विज्ञापन बोर्ड गठन भएको र सोही बोर्डले विज्ञापनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा मस्यौदा तयार गरी छलफल अन्तरक्रियाको क्रममा रहेको बताउनुभयो । 

त्यस्तै, लुम्बिनी प्रदेशका मुख्य सचिव डिल्लीराम शर्माले निर्माण हुने ऐन नियम र कानुनले सबैलाई हित गर्नुपर्ने र सरोकारवालाको अधिकार पनि सुनिश्चित गराउनु पर्ने बताउनुभयो । त्यैगरी विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापन आचारसंहिता तथा विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।