बैतडी समाचारदाता
बैतडी, चैत १२ गते । जिल्ला अस्पताल बैतडीमा दैनिक स्वास्थ्य परीक्षण गर्न आउने एक सयमध्ये २० जना मानिसमा मधुमेह, उच्च रक्तचापलगायत नसर्ने दीर्घरोग भेटिन थालेको छ ।
स्वास्थ्य परीक्षणपछि चिकित्सकले स्वस्थकर खानपान गर्न भनेपछि परम्परागत मकै, कोदो, फापर, आटोको खोजी हुन थालेको छ । यति मात्रै होइन, खाना पकाउने भाँडा र पानी खाने वर्तनसमेत तामाका भाँडा अनिवार्य जस्तै बन्न थालेका छन् । जिल्ला अस्पताल बैतडीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुनसम्म स्वास्थ्य परीक्षण गर्न आएका ३१ हजार ३५० जनामध्ये सात हजारभन्दा बढी नसर्ने दीर्घरोगी फेला परेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरोल, दम, मुटु र मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । रोगका कारण अस्वस्थकर खानपिन र जीवनशैली मुख्य समस्या रहेको पाइएको छ ।” मधुमेह लागेका अधिकांश बिरामीले पछिल्लो समय चिनी खान छाडेका छन् । चिनीको बदलामा बरु घरेलु गुँड (सखर) खोज्न थालेका छन् ।