उर्लाबारी समाचारदाता
उर्लाबारी, चैत ११ गते । मोरङको बेलबारीमा बेलबारी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ । बेलबारी नगरपालिका–१ को तमु बुद्धिस्ट गुम्बामा आइतबार सुरु भएको महोत्सवमा नेपाल, भारत र जापानका कलाकारको सहभागिता रहेको छ ।
चैत १२ गतेसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन भारतको मनिपुरका कलाकारले आदिवासीको रोदनमा आधारित नाटक प्रस्तुत गरेका थिए । सोमबार (आज) मण्डला थिएटरका कलाकारले ‘अष्टाङ्गीका झनामको नाटक प्रस्तुत गर्ने छन् । तेस्रो दिन ‘कान्दाता र शकुन्तला’ नामको जापानिज नाटक देखाइने छ । जापान र नेपालका कलाकारले संयुक्त रूपमा प्रस्तुत गर्ने नाटकमा नेपाल र जापानको संस्कृतिलाई देखाइने छ ।
कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले महोत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सुवेदीले नाटकका माध्यमबाट समाजलाई नयाँ बाटो देखाउन सकिने बताउनुभयो । आधुनिक चलचित्रको विकास हुनुपूर्व नाटक मनोरञ्जनको प्रमुख विधा रहेको उहाँले बताउनुभयो । बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा मण्डला थिएटरका सञ्चालक सोमनाथ खनाललगायतले आआफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नवराज पराजुलीद्वारा लिखित गीतिनाटक स्कुल प्रदर्शन गरिएको थियो भने बेलबारी बहुमुखी क्याम्पसका सात जना कलाकारले प्रस्तुत गरेको नाटक विकास बुढाथोकी र जीवन बरालले निर्देशन गर्नुभएको थियो ।