• १३ चैत २०८१, बुधबार

अध्यक्षमा सापकोटा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ११ गते । नेपाल उद्योग तथा व्यवसायी महासङ्घको अध्यक्षमा भागीरथ सापकोटा निर्वाचित हुनुभएको छ । महासङ्घको शनिबार सम्पन्न महाधिवेशनले सापकोटालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।  

यसै गरी महासङ्घको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ र  महिलातर्फ शोभा गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै महासचिवमा बालकृष्ण शिवाकोटी चयन हुँदा उपमहासचिवमा डिमप्रसाद पौडेल चयन हुनुभएको छ ।

यस्तै सचिवहरूमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन हुनुभएको छ । महासङ्घका तीन आयोगमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टङ्क राउत र अनुशासनतर्फ बालराम भट्टराई चयन हुनुभएको छ । महाधिवेशनले क्षेत्रगत रूपमा ९९ सदस्य केन्द्रीय कमिटी पनि सर्वसम्मत रूपमा चयन गरेको छ । 

नवनिर्वाचित अध्यक्ष भागीरथ सापकोटाले महासङ्घमा आफू अध्यक्ष भएर आएसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसायीको हकहितमा काम गर्ने बताउनुभयो । 

महासङ्घले अहिले पनि साना तथा मझौला उद्योगी व्यवसायीको हकहितमा काम गरिरहेको जानकारी दिँदै आगामी दिन सबै उद्योगी व्यवसायीले अपनत्व गर्न सक्ने महासङ्घ बनाउने उहाँको प्रतिबद्धता थियो ।