• ५ पुस २०८२, शनिबार

ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा

blog

कैलाश गाउँपालिकाको कार्यालय । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
मकवानपुर, पुस ५ गते ।
मकवानपुरको दुई गाउँपालिकाले इसाई धर्मावलम्बीहरुले पर्व ख्रिष्टमसको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको कार्यालयले इसाई धर्मावलम्बीहरुलाई ख्रिष्टमस पर्व मनाउन यही पुस १०, ११ र १२  गते सार्वजनिक बिदा दिएको हो ।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँपालिकामा इसाई धर्मावलम्बीहरुको उल्लेख्य बसोबास रहेको गाउँपालिका भर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँहरुले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै इसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने महान चाड ख्रिष्टमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

यस पर्वले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध गाउँपालिका बनाउन सबैमा प्रेरणा प्रदान गरोस् शुभकामना सन्देशमा भनिएको छ ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष मल्लले पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका जनतामा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा राख्नुभएको छ ।

यस्तै कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले क्रिसमस डेका अवसरमा जारी शुभकामना व्यक्त गर्दै यसव पर्वले दिगो शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सार्वजनिक बिदा दिने निर्णय अनुसार दुवै गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने भएको छ ।