चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १० गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को पालिका कमिटी अध्यक्षमा राजन लिम्बू (मुक्ति) निर्वाचित हुनुभएको छ । पालिका कमिटीको तेस्रो अधिवेशनले लिम्बू अध्यक्ष रहेको पालिका कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
फक्ताङ्लुङ गाउँपालिका अध्यक्षसमेत रहनुभएका लिम्बू माओवादी केन्द्रको पालिका कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा तारादेवी लिम्बू, दिलकुमार पतङ्वा र धनबहादुर राई, सचिव सुधीर सावादेन, सहसचिव सम्सेर फेम्बो र कोषाध्यक्षमा रनबहादुर माबोहाङ चयन हुनुभएको छ ।
पालिका अधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीसहित ४१ सदस्यीय कमिटी सदस्यहरुलाई निर्वाचन समिति संयोजक विद्या खड्काले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको छ । शनिबार भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले गर्नुभएको थियो ।
त्यस्तै अधिवेशन उद्घाटनमा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पा, जिल्ला संयोजक विष्णुकुमार लिम्बू लगायतको उपस्थिति छ । अधिवेशन शनिबार राति अबेर सम्पन्न भएको हो ।