• १३ चैत २०८१, बुधबार

किरात सिरिजङ्गा लिपि प्रशिक्षण सुरु

blog

निशा राई

धरान, चैत १० गते । धरान उपमहानगरपालिकामा ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण सुरु भएको छ । पछिल्लो समय सामान्य रुपमा मातृभाषा बोलेपनि लिपि नबुझ्दा पुस्तान्तरणमा समस्या हुँदै आएको कारण यसको सहजताको लागी किरात राई यायोक्खा धरान उपमहानगर समितिको आयोजनामा धरान–१० स्थित किरात राई यायोक्खा भवनको सभाहलमा किरात सिरिजङ्गा लिपिको दुई दिने प्रशिक्षण सुरु भएको हो । 

प्रशिक्षण कार्यक्रममा धरानका विभिन्न किराया वडा कार्यसमिति, भाषिक, भातृ संस्थाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको किराया नगर सचिब गिता राईले जानकारी दिनुभयो । 

सबै जातीको भाषा, धर्म, संस्कार, संस्कृतिको सरक्षण गर्ने दायित्व तीनै तहको सरकारको भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने क्रममा धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्र विक्रम बेघाले बताउनुभयो । लामो समय जनताको त्याग बलिदानीबाट लडेर आएको अधिकारलाई संरक्षण गर्दै लानुपर्ने उहाँले बताउनुभयो ।  

भाषा बोले पनि लिपि नबुझ्दा भाषा लोप हुने अवस्था रहेकाले पुस्तान्तरण गर्दै लानको लागि लिपि बुझ्नु जरुरी रहेको किराया सुनसरीको अध्यक्ष राजेन्द्र राईले बताउनुभयो । प्रशिक्षण कार्यक्रमले भाषा, सस्कृतिको जगेर्नामा ठुलो सहयोग पुग्ने उहाँले बताउनुभयो । धरान उपमहानगरले जातीय संस्थाहरुलाई बजेट विनियोजन गर्दा जनसख्याको आधारमा गर्नुपर्ने सुझाब समेत अध्यक्ष राईले दिनुभयो । 

किरात सिरिजङ्गा लिपिको बारेमा समुदाय स्तरसम्म ज्ञान प्रदान गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको किराया धरान नगर समितिका अध्यक्ष लिला राईले बताउनुभयो । प्रशिक्षण कार्यक्रमको सहजिकरण किरात प्रज्ञा परिषद्का सदस्य एबम किरात सिरिजङ्गा लिपि कार्यदल सदस्य गणेश वाम्बुले राईले गर्नुभएको छ ।