प्रेमराज सिम्खडा
कालीकोट, चैत १० गते । हिमाली जिल्लाका अधिकांश स्थानमा अझै पिउने पानीको समस्या रहेको छ । वर्षेनी पिउने पानीका लागि बजेटको व्यवस्थापन हुने भए पनि स्थानीयको निष्क्रियता र बलियो व्यवस्थापन नहुँदा हिमाली जिल्लामा खानेपानी आयोजना निमार्ण भएको एक दुई वर्षमै जीर्ण मात्र होइन पूर्ण रुपमा बन्द हुने गरेका छन् ।
खानेपानी आयोजना निमार्ण भएको केही वर्षमै जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ३ लिताकोटका नागरिक पिउने पानीबाट बञ्चित हुनु परेको छ । पानी अभावले लिताकोटका नागरिक काकाकुल बनेका छन् । गाउँपालिकाको केन्द्र समेत रहेको तिलाकोटवासीलाई सधैँ पिउने पानीको पीर हुने गरेको छ । लिताकोटका कृष्णहरी अधिकारीले कुनै पनि महिना आवश्यक्ता अनुसारको पानी प्रयोग गर्न नपाएको सुनाउनुभयो ।
‘‘आजभन्दा दश वर्ष अगाडिको समय होला, बस्तीको माथि मुल भन्ने ठाउँबाट पिउने पानी गाउँमा ल्याएको थियो । क्रमशः गाई गोठालाले ठाउँठाउँमा पाइएपलाईन काटेका कारणले पानी आपुर्ति हुन छोड्यो, मर्मतका लागि बजेट भएन । अहिले त कत्तीपनि पानी आउँदैन । पानी आपुर्तिका लागि प्रतिघर परिवारबाट मासिक एक सय शुल्क तिर्ने गरिएको छ ।,’’ अधिकारीले भन्नुभयो, ‘‘एक जना चौकीदार समेत छन्, तर उहाँलाई पनि अटेर गरेर दैनिक पानीको लाइन काट्ने, जसलाई जहाँ सहज हुन्छ त्यही पानीको लाइन काट्ने भएकाले गाउँमा पानीको अभाव भएको छ ।’’
विभिन्न कामका लागि गाउँपालिका जाने र होटलमा बास बस्ने पाहुनाले हातमुख धुनका लागि तातोपानी वा तिलानदीको पानीको भर पर्नुपर्ने अवस्था छ ।
लिताकोटमा डेरा गरी बस्दै आउनुभएका जुम्ला सिजाका दिपेश आचार्यले एक वर्षको अवधिमा आफू बस्ने घरको धारमा पानी आएको थाहा नभएको गुनासो गर्नुभयो । सधैँ नदी किनारको मुलको पानीको भर पर्नुपरेको उहाँको भनाइ छ ।
गाउँमा एउटक मात्र धारा भएकाले कहिलेकाही त पिउने पानी थाप्न समेत पालो नपाउने गरेको आचार्यको भनाइ छ । लिताकोटमा तीन सयभन्दा बढि घरधुरी छ ।
गाउँपालिका केन्द्र समेत यही भएकाले होटल व्प्यवसायीदेखि प्रहरी चौकी, गैरसरकारी संघसंस्थाका कार्यालय समेत यही छ । जनसङ्ख्या वृद्धी हुँदै गएकाले पनि पिउने पानीको अभावले यहाँका नागरिक निकै समस्यामा छन् ।
तातोपानी गाउँपालिकाका निवर्तमान अध्यक्ष नवराज न्यौपानेले आफ्नो पालामा जसोतसो पिउने पानीको व्यवस्थापन गरेको भए पनि अहिले समस्या भएको बताउनुभयो । ‘‘योजना सम्पन्न भएको ११ वर्ष पुग्दै छ । अर्को योजना माग गर्नु जस्तो पनि छैन । यहाँ नागरिक आफैँले आफु अनुकूलमा पिउने पानीको लाइन काट्ने भएकाले उनिहरु आफैँ समस्यामा परेको हुन् ।’’ उहाँले भन्नुभयो ।
लिताकोटको पिउने पानीको अभावका विषयमा खासै चासो सरकार र नागरिकले पनि लिएका छैनन् । स्थानीय अशोक न्यौपानेले भन्नुभयो, ‘‘आवश्यक ठानेका भए योजना माग हुन्थ्यो होला र आफैँले प्रयोग गर्ने पानीको सुरक्षा पनि गर्न तर्फ ध्यान जान्थ्यो होला ।’’
सिरानको पानी बिग्रेपनि सरसफाइका लागि तिलानदीको पानी र पिउनका लागि मुहानको पानीले काम चलेकाले नागरिक सुस्त देखिएको न्यौपानेको भनाइ छ । मुलको पानी नआउदा यहाँका नागरिक चिसो मौसममा भने निकै दुःख हुने गरेको छ । चिसोका कारणले नदीको पानीमा हात राख्न सक्ने अवस्था हुँदैन । मुलको पानी आउँदैन र पिउने पानीको जोहो गर्न समेत समस्या हुने गरेको छ ।