• ११ चैत २०८१, सोमबार

काठमाडौँमा पहिलो पटक रुसी चलचित्र प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत १० गते ।  रुसी चलचित्र दिवसका अवसरमा पहिलो पटक रुसी चलचित्रको प्रदर्शनी सम्पन्न भएको छ । उक्त दिवसमा शनिबार काठमाडौँको छायाँ सेन्टरमा तीन वटा रुसी चलचित्रको प्रदर्शनी गरिएको हो । रोस्किनोद्वारा आयोजित र रुसी संस्कृति मन्त्रालयको सहयोगमा तीन वटा रुसी चलचित्र प्रदर्शनी गरिएको हो । प्रदर्शन भएका चलचित्रमा ‘चार चौथाइ, ‘न्युरेम्वर्ग’ र ‘हामी तीन जना’ रहेका छन् । 

कार्यक्रममा निफका अध्यक्ष केपी पाठकले चलचित्र महोत्सवले विभिन्न देशसँग चलचित्रमा सहकार्य कायम गर्न र संसारका चलचित्र नेपालीसहित विश्वमाझ चिनाउने बाटो खुल्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस वर्ष निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको छ ।”

रसियन कल्चर सेन्टरका निर्देशक एनथम मास्लोवले, “नेपाली दर्शकले रसियाका बारेमा र रसियाको चलचित्रका बारेमा देखाउनुभएको उत्साह सराहनीय भएको बताउनुभयो ।” “रसियन राजदूतावास र रोस्किनोको सहकार्यमा निफले सुरुवात गरेको यो कदमले अझै धेरै रसियन चलचित्र, संस्कृति र जीवनस्तर जान्न सजिलो हुने उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विशेषता नै यही हो,” उहाँले भन्नुभयो । चलचित्र न्युरेम्वर्गमा निर्देशन निकोलाई लेबेदेव चार चौथाइलाई एबजेनिया तिर्दाटोवा र हामी तीन जनामा एलेकजेन्ड्रा सह्रानाको निर्देशन रहेको छ ।