• १२ चैत २०८१, मङ्गलबार

ग्वार्को फ्लाइओभरमा गम्भीर बेथिति

मध्यसहरमा अर्घेलो र भद्दा संरचना

blog

प्राविधिकहरूकै प्रश्नमा परेको ग्वार्कोस्थित सडक संरचना ।

ललितपुर, चैत १० गते । चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा सवारीसाधन आवतजावत गर्नका लागि सडकबाट ५.५ मिटर अग्लो संरचना निर्माण भइरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सुरुवातमा फ्लाइओभर र पछि ओभरपास भनेर उक्त संरचना निर्माण अघि बढाएको हो ।

पूर्वाधार तथा सडकविज्ञ र इन्जिनियरका अनुसार परियोजनाको प्रस्तावमा फ्लाइओभर भनिए पनि निर्माण संरचनाको ढाँचाले यसको पुष्टि गर्दैन । साथै केन्द्रका पूर्वनिर्देशक विजय जैसी र इन्जिनियर विक्रम पौडेलले पनि ओभरपास निर्माणमा गम्भीर त्रुटि भएको स्वीकार गर्नुभयो । 

परियोजनापूर्वका निर्णयकर्ता पूर्वनिर्देशक जैसीले ओभरपास निर्माण गर्नका लागि ठेक्का दिइएको एम÷एस आशिष समानान्तर जोइन्ट भेन्चर (जेभी) नयाँ निर्माण कम्पनी भएको बताउँदै भद्दा संरचना निर्माण हुँदा पुनः भत्काएर पुर्ने काम गरेको स्वीकार गर्नुभयो । त्यसै गरी इन्जिनियर पौडेलले पनि सहरी क्षेत्रमा फ्लाइओभर निर्माण नै उपयुक्त हुने बताउँदा ग्वार्कोमा दुईतर्फ पर्खाल बनाएर माटो पुरेर सवारी आवतजावतका लागि मध्यसहरमै अर्घेलो संरचना निर्माण भइरहेको छ ।

सहरको सौन्दर्यमै असर 

पूर्वाधार एवं यातायातविज्ञद्वय इन्जिनियर अनिल मरासिनी र आशिष गजुरेलका अनुसार सहरका व्यस्त रहने स्थानमा भद्दा संरचना निर्माण गर्दा सहरको सौन्दर्यमा असर पुग्छ । इन्जिनियर मरासिनीले ओभरपास निर्माण गर्दा सहरको सौन्दर्यीकरणलाई पनि ध्यान दिन सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “ओभरपास निर्माण गर्दा यातायातका साधन सञ्चालन गर्न सहज हुन्छ तर छरितो संरचना निर्माण गरेर सहरलाई सुन्दर बनाउनेतर्फ ध्यान पुर्‍याउनु पर्छ । निर्माण पक्षले कसरी निर्माण गर्ने भन्ने अध्ययन गरेकै हुन्छ तर ग्वार्को ओभरपास बनाउने र भत्काउने गर्दा केही त्रुटि छ कि भन्ने आशङ्का सिर्जना भएको छ ।”

इन्जिनियर गजुरेलले ग्वार्कोको ओभरपासले सहरको सौन्दर्यलाई असर पार्ने दाबी गर्नुभयो । उहाँले भद्दा संरचना बनाउनै नहुने बताउँदै ग्वार्को जस्तो व्यस्त चोकमा १७ करोड रुपियाँ खर्चेर अर्घेलो संरचना बनाउँदा खतरा हुने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, “दुईतर्फ पर्खाल लगाएर ओभरपास बनाइँदै छ, यसमा त्रुटि भएको भनेर भत्काउने र पुर्ने काम पनि भएको छ । यो त राज्यकोषको दुरुपयोग हो । कलङ्कीमा अन्डरपास बनाइएको छ । ग्वार्कोको ओभरपासलाई विश्वका अरू सहरमा बनाए जस्तै फ्लाइओभर ओभरपास ब्रिज बनाउनु पर्छ । अहिले निर्माणाधीन ओभरपासले दुर्घटना निम्त्याउन सक्ने जोखिम पनि मैले देखेको छु ।” केन्द्रका पूर्वनिर्देशक जैसीले अध्ययन गरेरै ओभरपास निर्माण गरिएकाले कुनै दुर्घटना नहुने दाबी गर्नुभयो । उहाँले निर्माणका क्रममा त्रुटि देखिएपछि ओभरपास पुनः भर्ने काम भएको बताउँदै नयाँ संरचना निर्माणमा नयाँ कम्पनीले बनाउँदा समस्या भएको हुन सक्ने प्रस्ट पार्नुभयो । 

तर इन्जिनियर गजुरेलले बुँदागत रूपमा सुझाव दिँदै ओभरपासलाई ब्रिजमा परिणत गर्न र पुलमुनिको खाली ठाउँमा सवारीसाधन आवतजावत गर्ने बाटो, फूलबारी वा अरू कामका लागि प्रयोग गर्न सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “छिमेकी देशमै हेरौँ, प्रमुख सहरमा दुई/तीन हजार मिटरका ओभरपास र फ्लाइओभर ब्रिज निर्माण गरिएको छ । मुनि खाली राखेर व्यापार गर्ने ठाउँ, सार्वजनिक शौचालयसहित विभिन्न काममा प्रयोग गरिएको छ । राज्यले अहिलेका लागि होइन, १० वर्षपछि के हुन्छ भन्ने हेरेर निर्माण गर्नु पर्छ । ग्वार्को ओभरपासमा यस किसिमको ध्यान पुर्‍याइएको छैन । सरकारले तत्काल निर्णय लिनु पर्छ ।”

‘यो नै पहिलो र अन्तिम हो’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले इपिसी मोडलमा पर्खाल उठाएर बनाइएको ग्वार्को ओभरपास नै उपत्यकाका लागि पहिलो र अन्तिम भएको बताउनुभयो । उहाँले खम्बासहितको पुल निर्माण गर्दा एक अर्ब ५० करोड रुपियाँ लाग्ने, इपिसी मोडलमा बनाउँदा २२ करोड रुपियाँमा बन्ने गरी योजना निर्माण भएको र ठेक्का लगाउँदा २२ करोडबाट घटेर १७ करोड रुपियाँमै ठेक्का लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “ग्वार्को ओभरपास हाम्रा लागि अनुभव भयो । अब पुल मात्रै बनाउने हो । ठेक्का लागेर पैसा खर्च भइसकेकाले गर्दा यसलाई फेरि अर्को पुल बनाउन मिल्दैन । आगामी दिनमा काठमाडौँमा फेरि फ्लाइओभर र ओभरपास बनाउनु नै छ । अब बनाउँदा यो ढङ्गको बनाउँदैनौँ । हाम्रो पहिलो र अन्तिम नै हो । अब ओभरपास पुल नै निर्माण गरिने छ ।”

केन्द्रले ४५५ मिटर र ५.५ मिटर उचाइ हुने गरी निर्माणको ठेक्का दिइएको छ । सम्झौतामा २०८० फागुन ११ गतेभित्र ओभरपास निर्माण सम्पन्न गर्ने भनिए पनि २०८१ पुस ८ गतेसम्मलाई म्याद थपिएको थियो तर ओभरपास निर्माणमा त्रुटि भेटिएको बताउँदै निर्माण कम्पनीले माटो भरेको ठाउँबाट माटो निकालेर फेरि पुर्ने काम गरिरहेको छ ।