• १४ वैशाख २०८१, शुक्रबार

त्रिविमा ताला लगाउने र फोड्नेबीच होडबाजी

blog

काठमाडौँ, जेठ २० गते । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन् । 

विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ ।

आफूहरूले लगाएको ताला फुटाएर क्रान्तिकारीले मुठभेड गर्न खोजेको आन्दोलनकारीले  आरोप लगाएका छन् । नेविसङ्घ त्रिवि समितिका सभापति योगेन्द्र रावलले आफूहरूले उठाएको शैक्षिक मुद्दालाई कमजोर बनाउन क्रान्तिकारीले ताला फोडेको आरोप लगाउनुभयो । 

नेविसङ्घले गत माघ ६ गतेदेखि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेको थियो । जनकपुरस्थित युथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनका लागि आफँैले दिएको सम्बन्धन आर्थिक लेनदेन नमिल्दा विश्वविद्यालयले खारेज गरिदिएको आरोप लगाउँदै उक्त सम्बन्धन यथावत् राख्नुपर्ने माग नेविसङ्घको छ । 

आर्थिक अनियमिततामा लाग्नेलाई कानुनी कारबाही हुनुपर्ने तथा विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने पनि माग नेविसङ्घको छ । आंशिक प्राध्यापकले आफूलाई दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लैजानुपर्ने, त्रिवि सेवा आयोगको पाठ्यक्रम परिमार्जन गर्नुपर्ने तथा आयोगबाट सञ्चालन हुने परीक्षा निष्पक्ष हुनुपर्ने माग राखी गत माघ २४ गतेदेखि पदाधिकारीको कक्षमा ताला लगाएका थिए । तालाबन्दीका कारण विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा भौतिक गतिविधि ठप्प छ । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।