गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ८ गते । दुई वर्षदेखि खस्कँदो क्रममा रहेको अन्तर्राष्ट्रिय व्यापार केही महिनायता क्रमशः सुधारको लयमा आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको व्यापार तथ्याङ्कले विगत वर्षका तुलनामा व्यापारसम्बन्धी अधिकांश सूचक लयमा आउन थालेको देखाएको छ । यद्यपि व्यापारको अवस्थामा दुई वर्षअघिको जस्तो उच्च लयमा भने छैन । विभागका अनुसार नेपालले यस आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जुन २०८० फागुनको तुलनामा आयात ११.२० प्रतिशतले बढी हो । उक्त अवधिसम्म १० खर्ब ३० अर्ब रुपियाँको वस्तु आयात भएको थियो । मूल्यका हिसाबले एक वर्षकै अन्तरमा आयात एक खर्ब १५ अर्ब रुपियाँले बढेको तथ्याङ्कले देखाउँछ ।
समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै ७९ अर्ब रुपियाँको डिजेल आयात गरेको छ । त्यसपछि ५१ अर्ब ३५ करोड रुपियाँको कच्चा भटमास तेल आयात गरेको छ, जसलाई नेपालमा प्रशोधन गरेर भारत निर्यात गरिएका कारण नेपालको समग्र निर्यात व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । त्यस्तै ४३ अर्ब रुपियाँको पेट्रोल आयात हुँदा ४१ अर्ब रुपियाँको एलपी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ ।
निर्यातमा उछाल
नेपालको निर्यात व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । विभागका अनुसार नेपालले फागुनसम्म एक खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । यो निर्यात गत आवको फागुनसम्मको तुलनामा ५७.२० प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक खर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो ।
निर्यातको तीव्र वृद्धिमा भटमासको तेलको महत्वपूर्ण भूमिका देखिन्छ । नेपालले आठ महिनामा करिब ४८ अर्ब रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ । भटमास आयात गरेर त्यसलाई नेपालमा प्रशोधन गरेर भारत पठाउने विगतको प्रवृत्तिमा सुधार आउँदा यसको निर्यात बढेको हो । भारतीय बजारमा भटमास तेलको माग उच्च भइरहनु र नेपालबाट निर्यात गर्दा प्राप्त भन्सार सहुलियतका कारण यसको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
विगतमा पाम तेलको निर्यातमा पनि यस्तै प्रवृत्ति देखिएको थियो । नेपालमा उत्पादन नै नहुने पाम इन्डोनेसिया र मलेसियाबाट आयात गरी नेपालमा प्लान्ट राखेर प्रशोधन गरेर भारतीय बजारमा पठाउँदा पाम तेल नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा परेको थियो । भारतले ती देशबाट पाम आयातमा लगाएको रोक र नेपालले भारतसँग प्राप्त गरेर भन्सार सहुलियतका कारण यहाँबाट हुने निर्यात सस्तो परेपछि भारतीय व्यापारीले नेपालबाट त्यसको आपूर्ति व्यवस्थापन गर्दथे । नेपालको निर्यात बढाउन भटमास तेलपछि सूर्यमुखी तेलको पनि उल्लेख्य भूमिका छ । समीक्षा अवधिमा नेपालले करिब आठ अर्ब रुपियाँको सूर्यमुखी तेल निर्यात गरेको छ । यो तेलको बजार पनि भारत नै रहेको तथ्याङ्कले देखाउँछ । त्यसपछि करिब छ अर्ब रुपियाँको अलैँची निर्यात हुँदा साढे चार अर्ब रुपियाँको गलैँचा नेपालबाट निर्यात भएको देखिन्छ । नेपालले आफैँ उत्पादन गर्ने अलैँची, गलैँचा, जुट जस्ता वस्तुको निर्यातमा भने सामान्य मात्र वृद्धि देखिन्छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनासम्म नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । २०८० फागुनसम्म नेपालको व्यापार घाटा नौ खर्ब २९ अर्ब रुपियाँ थियो । आयात र निर्यात बढ्दा कुल अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँले बढेको छ । आठ महिनामा नेपालले कुल १३ खर्ब ३० अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जुन अघिल्लो फागुनसम्म ११ खर्ब ३० अर्ब रुपियाँ थियो ।