• २१ वैशाख २०८१, शुक्रबार

सुदूरपश्चिमको नीति तथा कार्यक्रम २२ गते प्रस्तुत हुने

blog

अविनाश चौधरी

धनगढी, जेठ १९ गते । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश सभामा प्रस्तुत हुनेभएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । 

यसैगरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले प्रदेश सभामा पेश गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफल बिहीबार सकिएको छ । 

सो विधेयकमाथि तीन दिनसम्म छलफल गरिएको थियो । छलफलमा भाग लिनु हुँदै प्रदेश सभा सदस्यहरुले विनियोजन विधेयकअनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आउनु पर्नेमा जोड दिनुभएको छ । प्रदेश सरकारले किसानका लागि बीउबिजन, रासायनिक मलको शीघ्र व्यवस्था गर्नुपर्नेमा उहाँहरुको जोड थियो । 

प्रदेश सभा सदस्य मालामति रानाले प्रदेश सरकारले सालको बीउबाट आम्दानी लिन सक्नु पर्ने बताउनुभयो । वनजङ्गलमा हरेक वर्ष खेर गइरहेको सालको बीउँ प्रशोधन गर्ने उद्योग भएमा त्यसको व्यापार बढ्ने उहाँको भनाई छ । 

यस्तै, अर्का प्रदेशसभा सदस्य कृष्ण चौधरीले किसानले मलबिनै खेतीपाती गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । बेलैमा किसानलाई बीउँ, मल उपलब्ध गराउन सरकारलाई उहाँले आग्रह गर्नुभयो । यसैगरी, प्रदेशसभा सदस्य उमाकुमारी वादीले  वादी सशक्तिकरणका लागि ऐन बनाउन र सोहीअनुसार सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न सरकारलाई आग्रह गर्नुभयो । 

विधेयकमाथिको अन्तिम दिनको छलफलमा प्रदेशसभा सदस्यहरु चुनकुमारी चौधरी, माया तामाङ, कृष्णराज सुवेदी, वीरमान चौधरी, कुमारी नन्दा बम र माया भट्टले भाग लिनुभएको थियो ।