काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नु पर्नेमा जोड दिनुभएको छ ।
मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा संस्कृति, कला, साहित्य, इतिहास र सभ्यताको एउटा मिलन भएको र यहाँ राम्रो मन्थन भएको बताउनुभयो ।
सभ्यता, ज्ञान, योग, दर्शन र संस्कृतिको सुरुवातका यही हिमवतखण्डबाट हुनुको असाधारण महत्व रहेको चर्चा गर्दै उहाँले यस भूखण्ड भौगोलिक, सांस्कृतिक र जैविक विविधताको नमुना भएको बताउनुभयो । “यस्तो गौरवगाथा भएको भूखण्डको पहिचानलाई कसरी संरक्षितसहित अगाडि बढाउने भनेर हामीले साझा सङ्कल्प गर्नुपरेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “मानव सभ्यताको छ हजार वर्षका धेरै पुस्ताका इतिहास हामीसँग छन् । ती पुर्खाका योगदान हामीसँग छन् । जेनेटिक मेमोरीलाई हामीले पुनःजन्म गराउनुपर्नेछ ।”
प्रधानमन्त्री ओलीले हिमवतखण्डको गौरव र नेपाली जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थालाई अगाडि बढाउने सङ्कल्पको भावलाई केन्द्रमा राखेर कार्यक्रमस्थलमै रचित कविता प्रस्तुत गर्नुभएको थियो । समापन सत्रमा छानिएका कविहरुले कविता वाचन गर्नुभएको थियो ।
नेपाल र विदेशका गरी करिव पाँचसय स्रष्टा सहभागी सम्मिलनले १७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । यही चैत १ गते पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मिलनको उदघाटन गर्नुभएको थियो ।