• ३ चैत २०८१, आइतबार

लागुऔषधसहित दुई जना पक्राउ

blog

पक्राउ परेका बिजयजंग शाही र लोकबहादुर सोमै मगर ।

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), चैत ३ गते । बर्दियामा लागुऔषध ब्राउन सुगरसहित बाँकेका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका –१ बस्ने २० बर्षीय बिजयजंग शाही र ३० बर्षीय लोकबहादुर सोमै मगर रहेका छन् । 

भारतबाट नेपालतर्फ पैदल आई लु प्र ०३–००१ प १७८२ नम्बरको मोटरसाइकलमा चढेर आउँदैगर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । शंका मानी चेकजाँच गर्दा उनीहरूको साथबाट प्लाष्टिकको पुडियामा लुकाएर राखेको अवस्था ४ ग्राम २३० मिलिग्राम ब्राउनसुगर पक्राउ परेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मैनापोखरमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो । 

पछिल्लो समय बढैयाताल गाउँपालिका क्षेत्रको बाटो भएर भारतबाट लागुऔषध ल्याउन क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गत फागुन महिनामा मात्र २० जना लागुऔषधसहित पक्राउ परेका छन् । उनीहरुमध्ये अधिकांश बढैयाताल गाउँपालिका क्षेत्रमै पक्राउ परेका छन् ।