चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ३ गते । ताप्लेजुङका किसानले पानी माग्दै तमोर नदीमा पूजा आयोजना गरेका छन् । पानी नपरेर खडेरीको समय लम्बिँदै गएपछि किसानले तमोर नदीमा इन्द्र भगवानको पूजा गरेका हुन् ।
इन्द्र भगवानको पूजा गरेमा पानी पर्ने विश्वासहित आठराई त्रिबेणी गाउँपालिका –२ फूलबारीका किसानले तमोर नदीमा पूजा आयोजना गरेका हुन् । तमोर नदी र काबेली खोलाको संगमस्थल त्रिबेणीमा पानी माग्दै वर्षा र सहकालका देवता मानिने इन्द्र भगवानको पूजा गरेको किसानले बताएका छन् ।
लामो समयदेखि पानी नपरेका कारण बोका बलि चढाउँदै इन्द्र भगवानको पूजा गरिएको फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङ लिम्बूले जानकारी दिनुभयो । वडाध्यक्ष सेन्दाङका अनुसार इन्द्र भगवानको पूजा गरे पानी पर्ने जनविश्वास रहेकाले स्थानीय किसानले नदी किनारमा गएर पूजा आयोजना गरिएको हो ।
उहाँले लामो खडेरीका कारण समयमा खेतीबाली लगाउन नपाएको र लगाएको बाली सुक्न थालेपछि पानी माग्दै पूजा गर्नु रहर नभइ बाध्यता भएको बताउनुभयो । फूलबारीका पाँच दर्जन बढी किसान परिवारले संयुक्त रुपमा तमोर नदीमा पूजा आयोजना गरेको पनि उहाँले जानकारी दिनुभयो । लामो समयसम्म खडेरी पर्दा ग्रामीण क्षेत्रमा पानी माग्दै इन्द्र भगवानको पूजा गर्ने साथै भ्यागुताको विवाह गर्नेलगायतको प्रचलन रहिआएको छ ।