• ३ चैत २०८१, आइतबार

‘पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या घट्यो’

blog

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्दै दर्शनार्थीहरू । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङ्लिङ, चैत ३ गते । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाथीभरामा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या घटेको हो ।

सार्वजनिक तथ्याङ्कका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् । गत आर्थिक वर्षको फागुन महिनामा १७ हजार ९१२ जना दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा यो आर्थिक वर्षको फागुन महिनामा करिब साढे ९ हजार कम दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन् ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेषगरी बढी मात्रामा तीर्थयात्री आउनेगरेका छन् । तर बन्द हड्तालका कारण तीर्थयात्रीको सङ्ख्यामा समेत दिन प्रतिदिन ह्रास आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । 

क्षेत्र विकास समितिका अनुसार माघ महिनामा पनि दर्शनार्थीको सङ्ख्या घटेको छ । चालु आर्थिक वर्षको माघ महिनामा चार हजार २४९ दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । गत आर्थिक वर्षको माघ महिनामा ६ हजार ४०१ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका थिए । 

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा एक लाख १८ हजार ३०० दर्शनार्थीले पाथीभरा मन्दिरको दर्शन गरेका छन् । यस्तै, गत आर्थिक वर्षमा दुई लाख ३१ हजार ३३४ जना तीर्थयात्री पाथीभरा मन्दिर पुगेका थिए । 

मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीको सङ्ख्या घट्दा काफ्लेपाटी–माथिल्लो फेदीको मात्र नभई सदरमुकामसहित मेची राजमार्ग तथा तमोर काेरिडोर आसपासका व्यावसायीहरू समेत प्रभावित भएका छन् ।