• ३ चैत २०८१, आइतबार

गोरखाबाट एसइईमा चार हजार बढी विद्यार्थी सहभागी हुने

blog

गुणबहादुर रोका 

सुलीकोट, चैत ३ गते । गोरखा जिल्लामा माध्यमिक शिक्षा परिक्षा (एसइई) मा चार हजार ४ सय ७७ जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लामा सहभागीमध्ये साधारण तर्फबाट तीन हजार ४ सय ४१ जना, प्राविधिक तर्फ ९९ जना, ग्रेडवृद्धि साधारणतर्फ ९१६ जना, प्राविधिकतर्फ २१ जना विद्यार्थी सहभागी हुने भएका शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सुचना अधिकारी दीपक सिर्मलले जानकारी दिनुभयो । 

गोरखामा २३ वटा परीक्षा केन्द्रका लागि २३ जना केन्द्राध्यक्ष, ४१ जना सहकेन्द्राध्यक्ष, २३५ जना निरीक्षक, ५९ जना परीक्षा सहायक, ९५ जना कार्यालय सहयोगी र आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी खटिने सुचना अधिकारी सिर्मलले बताउनुभयो ।    

जिल्लामा गोरखा नगरपालिकाको महालक्ष्मी मावि लम्मीबजारमा सबै भन्दा बढी ३१८ जना परीक्षार्थीले एसइई परीक्षामा सहभागी हुने छन् भने सबैभन्दा कम परीक्षार्थी गण्डकी गाउँपालिकाको ताङलिङचोक माविमा ११० जना परीक्षार्थी सहभगी हुने शिक्षा विकास तथा समन्वय एकाइ गोरखाले जनाएको छ । 

जिल्लामा भएका ११ स्थानीय तहमा चुमनुब्री गाउँपालिका बाहेक सबै पालिकामा परीक्षा केन्द्र तोकिएको छ, सुचना अधिकारी सिर्मलले भन्नुभयो, “उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विद्यार्थीको सङ्ख्या न्यून रहनुका साथै होम सेन्टर तथा भौगोलिक विकटताका कारण पनि परीक्षा केन्द्र तोक्न नसकिएको हो ।”

गाेरखा जिल्लामा १३७ विद्यालयमध्ये १२५ सामुदायिक विद्यालय र १२ संस्थागत विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । आगामी चैत ७ गते बिहान ८ बजेबाट ११ बजेसम्म देशभर एकसाथ एसइई परीक्षा हुने भएको हो ।