काठमाडौँ, चैत ३ गते । सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लगाएको आरोपप्रति युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आपत्ति जनाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनओसीको आरोपको खण्डन समेत गर्नुभएको छ । मन्त्रालय र राखेपले पत्रकार सम्मेलन गरी एनओसीले नेपालको कानुन र अदालतको निर्णय नमानेको पनि जनाएको छ ।
मन्त्रालय र राखेपले यही चैत १ गते एनओसीले केही खेल सङ्घका पदाधिकारीहरूलाई संलग्न गराई पत्रकार सम्मेलनको आयोजना गरेको प्रति गम्भीर ध्यान आकृष्ट भएको पनि उल्लेख गरेको छ ।
सरकारले खेल क्षेत्रलाई मर्यादित बनाउन र राष्ट्रको गरिमा उच्च राख्ने काम गरिरहेको भन्दै पत्रकार सम्मेलनमा मन्त्रालय र राखेपप्रति लगाइएको निराधार आरोप निराधार भएको खेलकुद मन्त्री चौधरीले बताउनुभयो । मन्त्रालय र राखेपले आइतबार नै विज्ञप्तीमा पनि जारी गरेको छ ।
यसअघि गत शुक्रबार एनओसीले पत्रकार सम्मेलन गर्दै एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सरकारले आफूलाई कुवेत पुगेपछि डिपोर्ट गर्न सूचना पठाएको र सरकारले नागरिको संवैधानिक अधिकार कुन्ठित पार्न खोजेको आरोप लगाउनुभएको थियो ।
खेलकुद मन्त्रालय र राखेपले गलत सूचनामा आधारित भएर कुनै धारणा नबनाउन पनि आग्रह गरेको छ ।
मन्त्रालय र राखेपले जारी गरेको विज्ञप्ती :