• ३ चैत २०८१, आइतबार

गाजर बिक्रीबाट लाखौँ आम्दानी

blog

अर्जुन थापाले जुरिखेतमा बिक्रीका लागि राख्नुभएको गाजर । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत ३ गते । हेटौँडा–काठमाडौँ सडकखण्डको भीमफेदीका किसानले गाँजर बिक्री गरेर मासिक लाखौँ आम्दानी गर्न सफल हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतका किसानले गाजर बिक्री गरेर आम्दानी गर्नुभएको हो । हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने क्रममा मकवानपुरको भीमफेदीस्थित जुरिखेत क्षेत्रमा आधा दर्जन बढी ठाउँबाट गाजर बिक्री हुँदै आएको छ । 

यहाँका किसानले उत्पादन गरेको गाजर यो रुट हुँदै आवत–जावत गर्ने यात्रुले खरिद गर्ने गर्नुभएको हो । ७ वर्ष जेसिभी चालकका रूपमा काम गर्नुभएका भीमफेदी–६ जुरिखेतका अर्जुन थापा अहिले कृषि कर्ममा लाग्नुभएको छ । परिवार मिलेर तरकारी तथा गाजर खेती गरेर जुरिखेतमा बिक्री गर्ने गर्नुभएको छ । 

यहाँका ४० घरधुरीले व्यावसायिक रूपमै गाजर खेती गर्दै आउनुभएको छ । यो रुट हुँदै चल्ने सुमो, मोटरसाइकल, कार, बसलगायतका सवारी साधनमा यात्रा गर्ने यात्रुहरूले यहाँबाट गाजर र तरकारी लैजाने गर्नुभएको छ । यहाँ गाजर र गाजरको जुस खाने यात्रुहरूको बाक्लो उपस्थिति रहनेगरेको छ । 

यो सडक सञ्जाल हुँदै सङ्घीय राजधानी जाने यात्रुले स्थानीयस्तरमै उत्पादन भएको तरकारी र गाजर खरिद गर्ने गरेको थापाले बताउनुभयो । ‘यो क्षेत्रमा ४० घरधुरी छौँ, हामी सबैले गाजर र तरकारी खेती लगाएका छौँ, सबैले आलोपालो गरेर पाँच स्थानको बिक्री केन्द्रमार्फत यहाँको उपज बिक्री गछौँ’ उहाँले भन्नुभयो । 

थापाले आफ्नो पालोमा महिनामा पाँच दिन तरकारी र गाजर बिक्री गर्ने गरेको बताउनुभयो । उहाँले दैनिक ३०० किलो गाजर बिक्री गर्दै आउनुभएको छ । उहाँले गाजर बिक्रेर मात्र साढे तीन लाखको आम्दानी गर्नुभएको हो । बारीको साना–साना पाटा भएकाले यहाँका किसानले गोरुको प्रयोग गरेर खेत जोत्ने गर्नुभएको छ । 

जेठ र असारमा यहाँको गाजर काठमाडौँमा बिक्रीका लागि पठाउने गरिएको छ भने अन्य समयमा हेटौँडा–भीमफेदी–काठमाडौँ रुटमा चल्ने सवारीका यात्रुले यहाँको गाजर खरिद गर्ने गर्नुभएको छ । गाजरसहित यहाँका किसानले काउली, बन्दा, सेतो मुला, आलु, केराउ उत्पादन गरेर बिक्रीमार्फत आम्दानी लिन सफल हुनुभएको छ ।