• ३ चैत २०८१, आइतबार

पूर्व प्रधानमन्त्री प्रचण्डको फोटो जलाउने पक्राउ

blog

फोटो जलाएको आरोपमा पक्राउ परेका नीराजन बम।

अनिल पराजुली

हेटौँडा,चैत ३ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो जलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। हेटौँडामा शनिबार फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन केन्द्रीय समितिका सचिव नीराजन बमलाई प्रहरीले पक्राउ गरेको हो। 

चितवनको भरतपुर विमानस्थलबाट काठमाडौँ जान लागेका बमलाई चितवन प्रहरीले आइतबार मध्यान्ह पक्राउ गरेको हो। बमलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउँदै छ। 

बमविरुद्ध कसले उजुरी गर्‍यो भन्ने प्रहरीले खुलाएको छैन। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बमलाई चितवनमा पक्राउ गरिएको पुष्टि गर्नुभयो। पूर्व प्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले बमलाई पक्राउ गरिएको प्रवक्ता अर्यालले बताउनुभयो। 

सङ्घीय सांसद दीपकबहादुर सिंहको उपस्थितिमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौँडामा बमले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाउनुभएको थियो। बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले विज्ञप्ति जारी गरेको छ।