वराहक्षेत्र समाचारदाता
वराहक्षेत्र, चैत ३ गते । तराईमा जाडो क्रमिक रूपमा कम हुँदै गएपछि जाडो छल्न आन्तरिक रूपमा बसाइँ सरेर तराई झरेका चरा पुनः आफ्नै वासस्थानतिर फर्कन थालेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायतका तराई क्षेत्रबाट पाहुना चरा फर्कन थालेका हुन् ।
चराहरू विशेष गरी जाडोमा अति जाडो र गर्मीमा अति गर्मी सहन सक्दैनन् । जाडोमा तराई र गर्मीमा आफ्नै स्थायी वासस्थानतिर फर्कने गरेको चराविद् अनिष तिम्सिना बताउनुहुन्छ । उहाँका अनुसार पूर्वीनेपालको दुई हजारदेखि तीन हजार उचाइको पहाडका आसपास क्षेत्रमा रहेका चरा जाडो छल्न तराई क्षेत्रमा झर्छन् र गर्मी लाग्न थालेसँगै पुर्वीपहाडी क्षेत्रमै फर्कन थाल्छन् ।
पहाडी र हिमाली जिल्लाबाट आन्तरिक बसाइँसराइ गरेर तराईका सिम क्षेत्र, घाँसे मैदान र ताल, पोखरी र तलाउमा आएका चरा फर्कन थालेको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष जाडो छल्न आउने चरा फागुनको अन्तिम सातादेखि चैतभित्र फर्कने गरेका छन् ।
जाडो छल्न आउने हिउँदे आगन्तुक चरा सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, बिसहजारी ताल, चितवन राष्ट्रिय निकुञ्ज, जगदिशपुर ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका ताल क्षेत्र, घोडाघोडी ताल तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा जाडोभरि विचरण गरेर फर्कने गरेका छन् ।
कोशीटप्पु र आसपासका सिम तालमा आएका चरा हेर्नका लागि जाडो मौसममा आन्तरिक पर्यटकका साथै
विदेशी पर्यटक अमेरिका, बेलायत, जर्मन र चाइनाबाट पर्यटक कोशीटप्पु आउने गरेको चराविद् तिम्सिना बताउनुहुन्छ । पहाडी जिल्लाबाट आएका फिस्टा, चुइयाँ, भद्राइ र अर्जुनक प्रजातिका चरा तराई झर्नेे तिम्सिनाले बताउनुभयो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा ५३७ प्रजाति चराको रेकर्ड गरिएको छ भने नेपालमा चरा प्रजातिको सङ्ख्या ८९८ पुगेको नेपाल बर्ड रेकर्ड कमिटीले जनाएको छ ।