• ३ चैत २०८१, आइतबार

क्षयरोगमुक्त अभियानमा टीकापुर नगरपालिका

blog

टीकापुर नगरपालिका कार्यालय ।

टीकापुर समाचारदाता

टीकापुर, चैत ३ गते । टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । क्षयरोगमुक्त पालिका बनाउने अभियानमा रहेको टीकापुर नगरपालिकाले बिरामीको रोगसँग लड्ने क्षमता बढाउन पोषणयुक्त खानेकुरा दिन थालेको हो ।

पोषणयुक्त खानेकुरा लिन आएकी एक महिलाले भन्नुभयो, “कमजोर छु, काम गर्न सकिँदैन, बाँच्नलाई खानु पर्छ, नगरपालिकाले खानेकुरा दियो राम्रो भयो ।” अर्का क्षयरोगी ज्येष्ठ नागरिकले भन्नुभयो, “रोग लागिहाल्छ, बाँचून् भनेर सरकारले सहयोग गरिरहेको छ धन्यवाद छ ।”

क्षयरोगका बिरामीलाई नगरपालिकाले २० किलो चामल, एक क्यारेट अन्डा, गेडागुडी, चिनीलगायत गरी प्रतिव्यक्ति तीन हजार रुपियाँ बराबरको पोषणयुक्त खानेकुरा सहयोग गरिरहेको छ । “क्षयरोगका बिरामीलाई पोषण आवश्यक पर्छ,” नगरपालिकाको जनस्वास्थ्य प्रवर्धन उपशाखाका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक बलबहादुर रावलले भन्नुभयो, “यो खाना पोषणयुक्त हो भनेर विपन्न बिरामीलाई प्रतिकात्मक रूपमा दिएका छौँ, क्षमताले भ्याएसम्म बिरामीले आफैँ पोषण कुरा खानुहुन्छ ।”

पालिकामा एक वर्षको अवधिमा १२० जना नयाँ क्षयरोगी फेला परेका छन् । पुराना र नयाँ गरी १२६ जना विपन्नलाई पोषणयुक्त खानेकुरा दिने लक्ष्य रहेकोमा यस वर्ष पटक पटक गरी ८२ जनालाई दिइसकेको र बाँकीलाई समय मिलाएर दिने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रावलले जानकारी  दिनुभयो ।

क्षयरोगमुक्त अभियान

अभियान चलाउन टीकापुर नगरपालिकाले स्वयंसेवक तयार गरी घरघरै पुग्ने व्यवस्था मिलाएको छ । लामो समय खोकी लाग्नेलगायतका क्षयरोगसँग मिल्ने लक्षण भएका व्यक्तिको खकार सङ्कलन गरी टीकापुर अस्पताल वा स्वास्थ्य केन्द्रका प्रयोगशालामा परीक्षण गराइन्छ । शङ्कास्पद देखिएमा अस्पतालमा पुनः जाँच गरिन्छ । क्षयरोग लागेको प्रमाणित भएमा औषधी सेवनका लागि उत्साहित गर्दै भेटिएका सबै रोगीलाई सन्चो गराउने कोसिस गरिरहेको छ ।