• ३ चैत २०८१, आइतबार

नागरिक लगानी कोषले सेवा र लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ

blog

पर्वतकुमार कार्की कार्यकारी निर्देशक, नागरिक लगानी कोष

वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका पर्वतकुमार कार्कीले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त भई कार्यभार समालेको एक वर्ष पुगेको छ । यस अवधिमा भएका कार्यसम्पादन, नागरिक लगानी कोषका गतिविधि एवं आगामी दिनका लागि नागरिक लगानी कोषको कार्ययोजनाबारे कोषको ३५ औँ वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक कार्कीसँग गोरखापत्रका लागि भेषराज बेल्बासेले गर्नुभएको कुराकानी : 

३० औँ साधारण सभाले पारित गरेको वित्तीय विवरण एवं लाभांश के–कस्तो रह्यो ?

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलाई स्वीकृत गर्नुका साथै आम्दानी बाँडफाँट हिसाबबाट छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश (करसहित) गरी १३ प्रतिशत लाभांश स्वीकृत गरेको छ । यस अनुसार कोषले नियमित रूपमा आफ्ना सेयरधनीलाई उचित प्रतिफल दिन सफल भएको छ । स्थापनाकालमा दुई करोड ४४ लाख रुपियाँ चुक्तापुँजी भएको कोषको पुँजीमा धेरै ठुलो वृद्धि भएको छ । ३० औँ साधारण सभापछि कोषको चुक्तापुँजी छ अर्ब ४८ करोड १७ लाख रुपियाँ पुगेको छ । आव २०८०/८१ को साधारण सभाले स्वीकृत गरेको वित्तीय विवरण अनुसार सहभागी कोष दुई खर्ब ३६ अर्ब रहेको र लगानी दुई खर्ब ४८ अर्ब रहेको छ । केन्द्रीय हिसाबतर्फ सो आवमा एक अर्ब १५ करोड खुद नाफा भएको छ ।

कोषले हाल सञ्चालन गरिरहेका योजना तथा कार्यक्रम र तिनको विशेषताबारे बताइदिनुस् न ?

कोषले हाल विभिन्न सात वटा कार्यक्रम/योजना सञ्चालनमा ल्याएको छ । यी योजनामा कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन योजना, लगानीकर्ता हिसाब योजना, राष्ट्रसेवक कर्मचारी जीवन बिमा कोष, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना र नेपाल कृषि अनुसन्धान परिषद् बिमा कोष रहेका छन् । कर्मचारी बचत वृद्धि अवकाश कोषमा निजामती कर्मचारी वा सरकारी/अर्धसरकारी वा प्रचलित कानुनबमोजिम स्थापित गैरसरकारी सङ्गठित संस्थामा कार्यरत कर्मचारी सहभागी हुन सक्छन् ।

उपदान तथा पेन्सन योजनामा सङ्गठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी यस योजनामा सहभागी हुन सक्छन् । पेन्सन प्राप्त गर्न सहभागीको उमेर ५८ वर्ष वा १५ वर्ष योगदान गरेको हुनुपर्ने व्यवस्था रहेको छ । राष्ट्रसेवक कर्मचारी जीवन बिमा कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतमा कार्यरत राष्ट्रसेवकको जीबन बिमाका लागि प्रिमियम रकम सङ्कलन हुने र सोको व्यवस्थापन गरिने कार्य हुने गरेको छ । लगानीकर्ता अवकाश योजनामा सङ्गठित संस्था तथा त्यस्ता संस्थाका कर्मचारी योजनामा सहभागी हुन सक्ने छन् । कर्मचारीको औषधोपचार खर्च, कल्याणकारी कोष, बिमा कोष, हित कोष, वार्षिकोत्सवबापतको कोष, सञ्चित बिदालगायतका दायित्व व्यवस्थापनका लागि यस योजनामा सहभागी हुन सकिन्छ ।

नागरिक एकांक योजना अन्तर्गत साना तथा मध्यम स्तरका लगानीकर्ताबाट रकम सङ्कलन गर्ने र सो पुँजीलाई दक्ष र व्यावसायिक ढङ्गबाट लगानी प्रवर्धन गरी सोबाट प्राप्त भएको प्रतिफल सहभागीलाई वितरण गर्ने गरिन्छ । नागरिक पेन्सन योजनामा सबै नेपाली नागरिक सहभागी हुन सक्छन् । यसमा गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकसमेत सहभागी हुन सक्ने व्यवस्था कोषले गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्को बिमा कोषमा नेपाल कृषि अनुसन्धान परिषद्का कर्मचारीको मासिक पारिश्रमिकबाट तोकिएको रकम कट्टा गरी सोमा परिषद्को तर्फबाट त्यति नै रकम थप गरी कोषमा जम्मा भएको रकमलाई लगानी गर्ने र सोबाट परिषद्का कर्मचारीको बिमा व्यवस्था गर्न यो कोष सञ्चालन गरिएको हो ।

कोषको लगानीका क्षेत्र के के छन् ?

चालु आवको पुस मसान्तसम्म कोषले दुई खर्ब ६४ अर्ब ७७ करोड रुपियाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कोषको लगानी दुई खर्ब ३५ अर्ब पाँच करोड रुपियाँ रहेको थियो । यस अनुसार यस अवधिमा १२.६४ प्रतिशतले लगानी वृद्धि भएको छ । कुल लगानीमध्ये मुद्दती निक्षेपमा करिब ५२ प्रतिशत लगानी रहेको छ भने नेपाल सरकारको ऋणपत्रमा ०.१९ प्रतिशत, समयकालीन कर्जामा ९.७४, सहायक कम्पनीमा १.०३, सहभागी सापटी तथा आवास कर्जामा २०.७५, ट्रेजरी बिलमा ४.४४, सङ्गठित संस्थाको सेयर/धितोपत्रमा ११.६७ प्रतिशत लगानी छ । आगामी दिनमा सरकारी प्राथमिकताका भौतिक पूर्वाधारका परियोजना, कृषि, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा तथा पुँजी बजारका क्षेत्रमा लगानी बढाउँदै लैजाने योजना कोषको रहेको छ ।

कोषको लगानी संरचना हेर्दा मुद्दती निक्षेपमा अधिक केन्द्रित भएको देखिन्छ । यसबारेमा तपाईंको धारणा के छ ?

तुलनात्मक रूपमा अन्य क्षेत्रभन्दा मुद्दती निक्षेपमा लगानी अलि बढी छ । यसमा विभिन्न कारण छन् । पहिलो कारण, विगतमा मुद्दती निक्षेपको प्रतिफल दर आकर्षक हुनु नै हो भने यो लगानी अन्य क्षेत्रको लगानीभन्दा सुरक्षितसमेत हुने हुन्छ । दोस्रो कारण, लगानीका लागि सुरक्षित र आकर्षक क्षेत्रको पहिचान तथा उपलब्धतामा कमीले पनि हो । लगानीको यो अधिकेन्द्रिततालाई कम गर्न कोषले लगानी विविधीकरणलाई उच्च प्राथमिकतामा राखेको छ । यसका लागि लगानीका अन्य क्षेत्रको पहिचान गर्ने, भौतिक पूर्वाधार निर्माणका क्षेत्र, उत्पादनशील क्षेत्र, पुँजी बजारको क्षेत्रमा लगानी बढाउने योजना बनाई कार्य थालनी गरिएको छ । यद्यपि अवकाश कोष सञ्चालन गर्ने संस्थाहरूले सहभागीबाट सङ्कलन भएको रकमको लगानी गर्दा सुरक्षित लगानीलाई उच्च प्राथमिकतामा राख्नु पर्छ र अवकाश रकम भुक्तानीका लागि दैनिक रूपमा आवश्यक पर्ने तरलता उपलब्धताका लागिसमेत उल्लेख्य रकम निक्षेपमा राख्नुपर्ने आवश्यकता हुन्छ ।

मुद्दती निक्षेपको अंश घटाउने विकल्पमा कुन कुन क्षेत्र उपयुक्त हुने देख्नुभएको छ ?

लगानी विविधीकरणका लागि कोषले आफ्नो लगानी नीति र कर्जा कार्यविधिमा केही परिमार्जन गरेको छ । लगानी विविधीकरणका क्षेत्रगत कुरा गर्दा माथि उल्लेख गरिए अनुसार अहिलेको परिवेशमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माणका परियोजना, कृषि, पर्यटन, मझौला उद्योग जस्ता उत्पादनशील क्षेत्र, पुँजी बजार क्षेत्र एवं आफ्ना सहभागीलाई प्रदान गरिने कर्जा नै हुन् । यसै सन्दर्भमा कोषले जलविद्युत् परियोजनामा लगानी गर्न थालेको छ । पुँजी बजारका विभिन्न उपकरणमा लगानी बढाउने गरी कार्य अघि बढाइएको छ । सरकारी ऋणपत्रमा समेत लगानी वृद्धि गर्दै लगिएको छ । सहभागीलाई प्रदान गरिने कर्जाको सिलिङ बढाइएको छ ।

पुँजी बजारको विकासका लागि कार्य गर्ने कोषको उद्देश्यमा देखिन्छ । यसतर्फ के के कार्य भएका छन् ?

नागरिक लगानी कोष ऐनको प्रस्तावनामै ‘देशको आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई समेत पुँजीको बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउन एउटा नागरिक लगानी कोषको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएको’ उल्लेख छ । त्यसैले कोषले पुँजी बजारको विकासमा सघाउ पुर्‍याउने गरी विभिन्न कार्य गरिरहेको छ । यसै सन्दर्भमा कोषले मर्चेन्ट बैङ्कका रूपमा समेत विभिन्न सेवा प्रदान गर्ने गर्छ । यसका अलावा कोषले पुँजी बजारका विभिन्न उपकरण सेयर, बन्ड, डिबेन्चरलगायतमा लगानी गर्छ । कोषले दोस्रो बजारमा सेयर खरिदबिक्रीको कार्यसमेत गर्ने गरेको छ । पुँजी बजारको विकासमा सघाउ पुर्‍याउने क्रममा कोषले सहायक कम्पनीका रूपमा नागरिक स्टक डिलर कम्पनीको स्थापना गरेको हो । यस कम्पनीले समेत पुँजी बजारको विकासमा सघाउ पुर्‍याइरहेको छ ।

सहभागीलाई दिने सेवालाई सरल र झन्झटरहित बनाउनेतर्फ के कस्तो कार्य गरिएको छ र गर्ने योजना छ ?

कोषले सहभागीको हित र सहभागीलाई प्रदान गर्ने सेवालाई सरल, छिटोछरितो एवं झन्झटरहित बनाउने कार्यलाई प्राथमिकतामा राखेको छ । सेवा प्रभावकारी बनाउन एवं कोषको हिसाबकिताबलाई चुस्त/दुरुस्त राख्न यान्त्रिकीकरण (डिजिटलाइजेसन र अटोमेसन) को कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएका छौँ ।

सेवाग्राहीलाई सूचना लिने सुविधाका लागि सिआइटी स्मार्ट मोबाइल एप कार्यान्वयनमा रहेको छ । राष्ट्रसेवक कर्मचारीबाट सङ्कलन हुने रकमलाई सरकारको केन्द्रीय लेखा प्रणाली (सिजिएएस) बाट लिने व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ भने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) सँग कोषको कोर सफ्टवेयरलाई आबद्ध गर्ने कार्य भइरहेको छ । यसबाट स्थानीय निकायका कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको कर्मचारी बचत वृद्धि कोष र सावधिक जीवन बिमा कोषको कोष कट्टी विवरण सोझै सूत्रमार्फत कोषको सफ्टवेयरमा आउने छ ।

कोषको इसर्भिस पोर्टलबाट कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागीले विशेष सापटीका लागि अनलाइन आवेदन दिन सक्ने सुविधा उपलब्ध गराइएको छ । यही पोर्टलबाट अफिस लगइन गरी नयाँ सहभागी ग्राहकको कोषमा खाता खोल्न सकिने व्यवस्थासमेत मिलाएको छ । कोषले अटोमेसनको माध्यमबाट सेवालाई सहज, सरल बनाउँदै लगेको छ भने कार्यालयमा भौतिक रूपमा उपस्थित हुने/हुनुपर्ने ग्राहकलाई हेल्प डेस्क व्यवस्था गरी आवश्यक सूचना उपलब्ध गराउने र विभिन्न शाखामा ग्राहकलाई सरल तरिकाले सेवा प्रदान हुने व्यवस्था मिलाएको छ । हाल विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स एआईले कार्यालयको काममा धेरै सहयोग पुर्‍याउने र कार्य प्रणालीमा ठुलो सहजता ल्याएको भन्ने छ । कोषले पनि एआईको प्रयोग गर्ने दिशामा आवश्यक अध्ययन अघि बढाएको छ ।

अन्त्यमा, कोषका सेवाग्राहीलाई के भन्नुहुन्छ ?

सेवाग्राहीले कोषलाई जसरी विश्वास गर्नुभएको छ, कोषले पनि सेवाग्राहीलाई चुस्त/दुरुस्त र झन्झटरहित सेवा प्रदान गर्न एवं सेवाग्राहीबाट सङ्कलित रकमलाई सुरक्षित रूपमा लगानी गरी राम्रो प्रतिफल दिने प्रतिबद्धता व्यक्त गर्छ । कोषले सहभागीलाई प्रतिफलका अतिरिक्त आफ्नो सामथ्र्यले भ्याएसम्म सामाजिक सुरक्षाका विभिन्न सेवा प्रदान गरिरहेको र आगामी दिनमा सामाजिक सुरक्षाको सेवालाई बढाउँदै लैजाने छ ।

कोषले सहभागीको अवकाश जीवनलाई सहज बनाउन आवश्यक पर्ने वित्तीय स्रोतका लागि विभिन्न अवकाश योजना सञ्चालनमा ल्याएको छ । यसै सिलसिलामा सरकारी, गैरसरकारी सङ्घसंस्थामा कार्यरत धेरै जसो कर्मचारीले कोषको योजनामा सहभागिता जनाइसक्नुभएको छ । कोषको योजनामा सहभागी हुन बाँकी रहनुभएका राष्ट्रसेवक कर्मचारीलगायत अन्य सङ्घसंस्थामा कार्य गर्ने कर्मचारी एवं स्वरोजगारमा रहेका आमनेपाली नागरिकलाई कोषका अवकाश योजनामा सहभागी भई अवकाश जीवनलाई आर्थिक रूपमा सुरक्षित बनाउन सबैलाई आग्रह गर्छु । कतिपय नेपाली नागरिकमा नागरिक लगानी कोषका कार्यक्रम कर्मचारीलक्षित मात्र छन् भन्ने बुझाइसमेत रहेको पाइएको छ । कोषले स्वरोजगारमा रहेका, वैदेशिक रोजगारमा रहेका एवं देशका सबै भूगोलमा बसोवास गर्ने दाजुभाइ तथा दिदीबहिनी एवं वैदेशिक रोजगारलक्षित नागरिक पेन्सन योजनासमेत सञ्चालनमा ल्याएको छ । यस योजनामा सहभागी भई सक्रिय उमेरमा कमाएको रकमलाई पेन्सन योजनामा लगानी गरेर अवकाश जीवनलाई सुरक्षित बनाउनसमेत सम्बद्ध सबैमा अनुरोध गर्छु ।