तुलसीपुर समाचारदाता
तुलसीपुर, चैत ३ गते । तुलसीपुर उपमहानगरपालिका–१८, मनिकापुरका ६५ वर्षीय हुमाकुमारी बस्नेतले तीन वर्षपहिले मुस्किलले खेतबाट एक बाली मात्रै भित्र्याउनुहुन्थ्यो । वर्षायाममा वर्षा हुँदा मुस्किलले वर्षमा एक पटक धान भित्र्याउने हुमाकुमारी अहिले भने तीन बालीसम्म भित्र्याउने अवस्थामा हुनुहुन्छ ।
२०७९ सालमा दाङ बृहत् सिँचाइ आयोजनामार्फत गाउँमा जमिनमुनिबाट पानी निकाल्न डिप बोरिङ खनेपछि हुमाकुमारी जस्तै गाउँका किसानले सहजै बाली उत्पादन गर्न थालेका छन् । करिब ३० बिघा क्षेत्रफलमा सिँचाइ हुँदै आएको एकीकृत जल उपभोक्ता संस्था तुलसीपुर–१८ का अध्यक्ष दामोदर बस्नेतले बताउनुभयो । बस्नेतले भन्नुभयो, “सिँचाइ नहुँदा वर्षमा वर्षायाममा धान बाली उत्पादन गर्न पनि मुस्किल हुन्थ्यो, अहिले त हिउँदमा पनि गाउँघर हरियाली देखिएको छ, यो सबै बाह्रै महिना खेतबारीमा सिँचाइ भएपछि सम्भव भएको हो ।”
किसानले बाह्रै महिना पानी भएपछि समयमै धानको ब्याड राख्न पाउँदा यस क्षेत्रमा हिउँदे बाली मात्रै होइन वर्षायाममा धान उत्पादनमा समेत वृद्धि भएको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले आठ कट्ठा खेतमा मुस्किलले २०/२५ मुरी धान फल्थ्यो अहिले सिँचाइ सुविधा भएपछि ४० मुरीसम्म धान फल्छ । पहिले एक बाली मात्रै हुन्थ्यो, हिउँदमा गहुँ छर्नका लागि पानी हुँदैनथ्यो, खानका लागि गहुँ किन्नुपथ्र्यो अब त गहुँ घरमा खान पुगेर पनि बिक्री गर्ने समेत हुन्छ ।”
बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका प्रमुख टोपबहादुर खत्रीका अनुसार जिल्लाको खेतीयोग्य ५६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउनका लागि आयोजनामार्फत ३५ वटा जलाशय निर्माण भइसकेको र ६३ वटा डिप बोरिङ खनिएको बताउनुभयो । खत्रीका अनुसार आयोजना सम्पन्न गर्नका लागि ४० अर्ब बजेट आवश्यक पर्ने भए पनि हालसम्म दुई अर्ब रकम खर्च भएको बताउनुभयो । खत्रीका अनुसार आयोजना सुरु भएपछि जिल्लामा किसानले बेमौसमी तरकारी खेती, १२ महिना मकै खेती सुरु गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको झारी भर्ने चमई सोता जल उपभोक्ता संस्थाका अध्यक्ष दुर्गाबहादुर खत्रीले आयोजनामार्फत परम्परागत सिँचाइ कुलोको सुधार गरी किसानलाई वर्षमा तीन बाली भित्र्याउनका लागि आधुनिक सिँचाइ निर्माण गरिएको बताउनुभयो । खत्रीका अनुसार कुलो निर्माणपछि करिब ६० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउन सहज भएको छ ।