काठमाडौँ, चैत १ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
शुक्रबारदेखि काठमाडौँमा सुरु भएको ‘हिमवत्खण्ड कला, साहित्य, संस्कृति सम्मिलन’लाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल हिमवत्खण्डको केन्द्रस्थल र विश्वमा मानव सभ्यताको आदिभूमि भएको उल्लेख गर्नुभयो । उहाँले प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दाहरू आज विविध मुलुकका नागरिक भएता पनि हामी बिचमा सभ्यताको साझा धागो र संस्कृतिको सुन्दर सेतु रहेको बताउनुभयो । उहाँले प्रत्येक राष्ट्रका आफ्नै कर्तव्य र दायित्वहरू रहेको उल्लेख गर्नुहुँदै यसलाई मुलुकको विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्ने बताउनुभयो ।
‘‘हिमवत्खण्डभित्र बसोवास गर्ने विविध समुदायबिच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ । प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दा हामी आज विविध मुलुकका नागरिक भएका छौं । तथापी हाम्रा बिचमा सभ्यताको उही साझा धागो र संस्कृतिको त्यही सुन्दर सेतु छ ।,’’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘जसले हामीलाई आपसमा जोडेको छ र भविष्यमा पनि जोडिरहने छ । अवश्य पनि हाम्रा बिचमा भाषिक भिन्नताहरू छन् । हाम्रा सोच्ने तरिकाहरू फरक छन् र हाम्रा आफ्नै कर्तव्य र दायित्वहरू छन् । ति विविधतालाई हामीले हाम्रा विशिष्ट र प्राकृतिक विषेशता मान्नुपर्छ भन्ने मलाई लाग्दछ । हाम्रा राष्ट्रहरूका सन्दर्भमा पनि यी कुराहरू उत्तिकै लागु हुन्छन् ।’’
उहाँले हिमवतखण्ड नेपालमा सबैभन्दा प्राचिन ग्रन्थ ऋग्वेद र सबैभन्दा प्राचीन भाषा संस्कृतको जन्म भएको उल्लेख गर्नुभयो । यही भूमिमा चार वेद, उपनिषद्, श्रुति, स्मृति, पुराण तथा अनेकौँ नीतिशास्त्रको प्रादूर्भाव र विस्तार भएको उहाँको भनाइ छ । आउँदो आइतबारसम्म चल्ने सम्मिलनमा सात वटै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यान्मार, भुटान, थाइल्यान्डमा बसोवास गर्ने नेपाली सहभागीहरूको समेत सहभागिता रहेको छ ।