• १ चैत २०८१, शुक्रबार

सुरक्षा निकायलाई डढेलो नियन्त्रण सामग्री हस्तान्तरण

blog

डढेलो नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा निकायलाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिँदै । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, चैत १ गते । डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ ।  

कार्यालयले जिल्ला वन कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नी नियन्त्रण सम्बन्धि विभिन्न सामग्री हस्तान्तरण गरेको हो । 

सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै गएपछि नियन्त्रणमा सघाउ पुर्‍याउने उद्देश्यले सुरक्षाकर्मीलाई विभिन्न उपकरणहरू हस्तान्तरण गरेको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताउनुभयो । उहाँले अग्नी नियन्त्रण सामग्रीको प्रयोगले वन डढेलो नियन्त्रणमा सहज हुने हुँदा कार्यालयले उपलब्ध गराएको बताउनुभयो ।

डिभिजन वन कार्यालयले नेपाल प्रहरीलाई ब्याक वाटर पम्प, फायर र्याक, जम्प सुट र फायर साबेललगायतका सामग्रीहरू हस्तान्तरण गरेको हो । ती सामग्रीहरू वन कार्यालयले नेपाली सेनाको पशुपति प्रसाद गण पिपलटार ब्यारेक, सशस्त्र प्रहरीको नम्बर ५ गण बोक्से र जिल्ला प्रहरी कार्यालय उदयपुरलाई हस्तान्तरण गरेको हो । 

कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले कसैले जानी जानी वनमा आगो लगाएमा प्रशासनले त्यस्ता व्यक्तिलाई कडा कारबाही गर्ने निर्णय भइसकेको बताउनुभयो । वन डढेलोले जैविक विविधतामा ठुलो असर पुर्‍याउने हुँदा वन कार्यालयले दिएको सामग्रीलाई सही रूपमा प्रयोग गरि अग्नि नियन्त्रणमा सवै पक्षले लागिपर्नुपर्नेमा प्रजिअ घिमिरेले जोड दिनुभयो ।