रामपुर समाचारदाता
रामपुर (पाल्पा), चैत १ गते । पाल्पाको रामपुर नगरपालिकामा धमाधम सडक स्तरोन्नति भइरहेको छ । कालीगण्डकी बेँसीको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बेझाँड बजार, बसपार्क र आसपासका क्षेत्रका नौ किलोमिटर सडक स्तरोन्नतिको काम तीव्र गतिमा चलेको हो ।
लुम्बिनी प्रदेश सहरी विकास मन्त्रालयको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार निर्माण आयोजना अन्तर्गत सडकको स्तरोन्नतिको कार्य अघि बढेको हो ।
रामपुर नगरपालिका वडा नम्बर ५ र ६ का बजारक्षेत्र तथा सिमलघारी बसपार्कदेखि जाने १३ वटा सहायक सडकको स्तरोन्नतिको कार्य भइरहेको छ । नगरकै ठुलो आयोजना भएकाले यसले रामपुरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । आयोजना समयमै सम्पन्न गर्नका लागि नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गर्दै आएको उहाँले बताउनुभयो ।
रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले निर्माणको कामलाई गति दिन आयोजना सञ्चालनका क्रममा आउने विवाद समाधान गर्दै अघि बढेको बताउनुभयो । लुम्बिनी प्रदेश र सङ्घ सरकारको समपूरक कोषबाट आयोजनाका लागि २६ करोड ७१ लाख रुपियाँ विनियोजन भएको थियो । २०८२ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी गजेन्द्र/बिकेबी जेभी वालिङले भ्याट र कन्टेन्जेन्सीबाहेक १५ करोड एक लाख ७६ हजार ९७८ रुपियाँमा आयोजनाको ठेक्का सम्झौता गरेको थियो ।
आयोजना अन्तर्गत नाली निर्माण सकिएसँगै कल्भर्ट निर्माण र सडक पिचको काम चलिरहेको छ । साथै नगरपालिकापरिसरमा कम्पाउन्डसहितको पार्क निर्माण भइरहेको छ ।
सहरी विकास तथा भवन कार्यालय पाल्पाका प्रमुख गोविन्दप्रसाद गौतमले हालसम्म आयोजनाको भौतिक प्रगति ४५ प्रतिशतभन्दा बढी र आर्थिक प्रगति ३३ प्रतिशत रहेको जानकारी दिनुभयो । निर्माण व्यावसायी विवेक तिवारीले भक्तानी समयमै भएमा जेठ मसान्तभित्र आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।