• १५ वैशाख २०८१, शनिबार

अदुवा खेतीको नाममा नक्कली बिल बनाउने घिमिरेविरुद्ध अदालतमा आरोपपत्र दायर

blog

काठमाडौं, जेठ १८ गते । अख्तियार दुरुपयोग अनुसन्त्रान आयोगले सुर्खेत कुनाथरीका नेपाल नागरिक समान (सिस नेपाल) का अध्यक्ष ओम प्रकाश घिमिरे र सामाजिक परिचालक यामलाल घिमिरेविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । 

घिमिरेद्वयले सुर्खेतको कुनाथरीमा सिस नेपाल संस्थाले दिगो आय आर्जन व्यवसायिक अदुवा खेतीको लागि तालिम, गोष्ठी र अभिमुखीकरण जस्ता कार्यक्रम गरेको भनी नक्कली बिल भरपाई बनाई १३ लाख ३७ हजार २० रुपियाँ रकम लिएको ठहर गर्दै आरोपपत्र दायर गरेको हो ।अख्तियारले  दायर गरेको आरोपपत्रमा घिमिरेद्वयलाई भष्ट्राचार निवारण ऐन २०४९ बमोजिम कैद र बिगो असुलउपर गर्न मागदावी पनि गरिएको छ । 

यसैगरी अख्तियारले बुधबार नै पर्सा जिल्ला श्रीपुर मुर्ली स्थित नेपाल राष्ट्रिय विद्यापिठ उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक बलराम श्रेष्ठविरुद्ध पनि विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण गर्ने भन्दै जिल्ला शिक्षा कार्यालयबाट २९ लाख ५० हजार रुपियाँ निकासा गरी विनियोजित रकम सम्बन्धित शीर्षकमा खर्च नगरी आफुखुशी खर्च गरेको अख्तियारले ठहर गरेको छ । 

अख्तियारले प्रधानाध्यापक श्रेष्ठले २०६७/०६८ सालको साउन, भदौ र असोज तथा दशैं खर्च बापतको समेत ९२ हजार ३७८ रुपियाँ दोहोरो तलब लिएको उल्लेख गरेको छ । दायर आरोपपत्रमा प्रधानाध्यापक श्रेष्ठले विद्यालयका लेखा हेर्ने कर्मचारी राकेशमान श्रेष्ठको समेत मिलेमतोमा सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्ट्राचार गरेको भन्दै प्रधानाध्यापक श्रेष्ठ र कर्मचारी राकेशमानलाई कानुन बमोजि  कैद र बिगो असुलउपर गरी पाउनसमेत मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।