काठमाडौँ, फागुन २८ गते । काठमाडौँ जिल्ला अन्तरपालिका फुटबल प्रतियोगिता (डिसिसी कप) चैत २ देखि ९ गतेसम्म हुनेभएको छ ।
जिल्ला समन्वय समिति काठमाडौँको आयोजनामा हुने प्रतियोगितामा काठमाडौँ जिल्लाका नगरपालिकाको सहभागिता रहने छ ।
काठमाडौँ जिल्लामा भएका ११ वटा नगरपालिकालाई सहभागिताका लागि आमन्त्रण गरिएको जिल्ला समन्वय समिति काठमाडौँका अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।
आयोजकको अनुसार अहिलेसम्म ६ टिम खेल्ने पक्का भइसकेको छ । प्रतियोगिता सम्पन्न गर्न १० देखि १२ लाख रुपियाँ खर्च हुने र यसको खर्च नगरपालिकाहरूले गर्ने छन् ।
प्रतियोगिातको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।