रमेश विश्वकर्मा
गुल्मी, फागुन २८ गते । गुल्मीमा मृत अवस्थामा फेला परेका एक पुरुषको पहिचान खुलेको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–४, झार्कीसल्लास्थित ढोरपाटन सडक खण्डदेखि अन्दाजी तीन सय मिटर तल भिरको खरबारीको गोरेटो बाटोमा मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर– २ बादिकोटका २५ वर्षीय प्रकाश सामत रहेका छन् । मङ्गलबार साँझ करिब ७ः३० बजेको समयमा सामत मृत अवस्थामा भेटिएका हुन् ।
मृत सामत फागुन १४ गते रातिबाट घरपरिवारको सम्पर्कमा नरहेको भनि मृतकको भाइ १८ वर्षीय सुरेश सामतले प्रहरीलाई जानकारी गराउनुभयो । बुधबार बिहान ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा आई सुरेशले आफ्नो दाइको पहिचान गर्नुभएको प्रहरीले जनाएको छ ।