• २८ फागुन २०८१, बुधबार

हेटौँडा अस्पतालमा मुटु रोगसम्बन्धी सेवा सुरु

blog

मुटुरोग विशेषज्ञ उपचार सेवाको शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ । तस्बिर : अनिल पराजुली

 अनिल पराजुली
हेटौँडा, फागुन २७ गते ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ उपचार सेवाको शुभारम्भ गरिएको छ । सेवाको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मङ्गलबार एक कार्यक्रमका बिच शुभारम्भ गर्नुभएको हो ।

सेवा शुभारम्भ गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकार स्थापना भएपछि हेटौँडा अस्पतालको सेवा सुविधा बढ्दै जानुले प्रदेश सरकारको औचित्यलाई स्वास्थ्य क्षेत्रमा भएको विकासले पुष्टि गरेको बताउनुभयो । उहाँले प्रदेश सरकार मातहत आएकै कारण १३ वटै जिल्लाका अस्पतालको अवस्थामा सुधार हुँदै गएको बताउनुभयो ।

त्यस्तै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले सङ्घीयता लागु भएपछि विशेष गरी स्वास्थ्य, शिक्षा क्षेत्रले ठुलो फड्को मारेको बताउनुभयो । उहाँले हेटौँडा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले थप मेडिकल उपकरण समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले जनतालाई सहज हुनेगरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्दै स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा ड्रेस लगाउन पनि सुझाव दिनुभयो । स्वास्थ्य मन्त्रालय सचिव डा.सुमित्रा गौतमले स्वास्थ्य क्षेत्रलाई प्रविधिमैत्री र अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशका १३ वटै अस्पताललाई आम नागरिकलाई उत्कृष्ट सेवा दिन उहाँले आग्रह गर्नुभयो ।

टिचिङ कार्डियो मनमोहन भास्कुलरमा अध्ययन गर्नुभएका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठबाट हेटौँडा दैनिक रूपमा मुटु जाँच सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिनुभयो । क्याथ ल्याबको अभावले गर्दा अप्रेसन बाहेकका सबै मुटुको उपचार सेवा इसिजी, इको, टीएमटी, हल्टर, एविपी जस्ता परीक्षण हेटौँडाबाटै हुने उहाँले बताउनुभयो ।

अस्पतालमा मुटु रोग विशेषज्ञ आएपछि मुटुको इको, इसिजी, टिएमटी जस्ता परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हट्ने भएको छ । हेटौँडा अस्पतालमा गत २०८० सालमा नै मुटु रोगसम्बन्धी उपचार तथा परीक्षणका लागि उपकरण प्राप्त भएको थियो । मुटु रोग विशेषज्ञ नहुँदा उक्त उपकरण थन्किएर रहेको थियो । रोटरी क्लब मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा एक करोड रुपियाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको रोटरी क्लबका अध्यक्ष अनिल अग्रवालले जानकारी दिनुभयो । उक्त उपकरण प्राप्त भएसँगै अस्पतालले मुटु रोग सम्बन्धी विशेषज्ञ डा.नियुक्तिको पहल गर्दै आएको थियो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालित हेटौँडा अस्पतालमा अहिले तीन सय शय्या सञ्चालनमा छन् भने ४५ जना विशेषज्ञ चिकित्सक र तीन स्वास्थ्यकर्मीहरू कार्यरत छन् । केही समयभित्र दुई सय शय्या थप गर्नका लागि अस्पताल परिसरमा पाँच तले भवन निर्माणाधीन अवस्थामा रहेको रजिस्ट्रार भीम सागर गुरागाईँले जानकारी दिनुभयो ।

केही वर्ष अघिसम्म ‘रिफर अस्पताल’को रूपमा परिचित हेटौँडा अस्पताल अहिले यस क्षेत्रका बिरामीहरूको भरपर्दो र विश्वासिलो स्वास्थ्य संस्थाको रूपमा परिणत भएको छ । बहिरङ्ग सेवामामात्र दैनिक १५ सय जनासम्म बिरामीहरूको आउने गर्छन् । यो सेवा सुरु भएसँगै मुटु रोग सम्बन्धी सेवा लिन भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता पनि हट्ने भएको छ ।