• २५ वैशाख २०८१, मङ्गलबार

कृषि एम्बुलेन्स सञ्चालन गर्दै भूमे गाउँपालिका

blog

रुकुम पूर्वको भूमे गाउँपालिका । तस्बिर - राजु लामिछाने

राजु लामिछाने 

रुकुम पूर्व, जेठ १८ गते । रुकुम पूर्वको भूमे गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न  एउटा गाडी खरिद गरेको छ । उक्त गाडीलाई कृषि एम्बुलेन्सका लागि प्रयोग गर्नेगरी पहिलो गाउँ कार्यपालिका बैठकले निर्णय समेत गरेको छ । 

कार्यपालिका बैठकले गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम स्थानीय कृषि उपज संकलन तथा बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्न खरिद गरिएको चारपांग्रे गाडीलाई स्थानीय उपज संकलन तथा बजारीकरणका लागि प्रयोग गर्ने निर्णय गरेको हो । यसका लागि उक्त गाडी भूमे गाउँपालिका २ को मारिङ बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकामा उत्पादन हुने कृषि उपज अव उक्त कृषि एम्बुलेन्सले बजारसम्म पु¥याउने छ । 

एम्बुलेन्स संचालन गर्ने जिम्मा पाएको मारिङ बहुउद्देश्यीय सहकारी संस्थाले भूमे २ को खावाङ बगरमा सहकारी बजार पनि संचालन गर्दै आइरहेको छ । कृषकले उत्पादन गरेका कृषि उपजलाई सहजै बजारसम्म पु¥याउने उद्देश्यले कृषि एम्बुलेन्स संचालन गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

त्यस्तै, गाउँकार्यपालिका बैठकले चुनवाङ स्वास्थ्य चौकीका लागि खरिद गरिएको एम्बुलेन्स उक्त स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने पनि निर्णय गरेको छ । एम्बुलेन्स स्वास्थ्य चौकी व्यवस्थापन समितिले नै सञ्चालन तथा व्यवस्थापन गर्ने गरी हस्तान्तरण गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाउँपालिकाले यसअघि पनि एम्बुलेन्स संचालन गर्दै आइरहेको छ । अव गाउँपालिकामा दुई वटा एम्बुलेन्सहरु रहने भएका छन् । यसले विरामीलाई स्वास्थ्य संस्थाहरुमा पु¥याउन थप सहज हुने विश्वास गरिएको छ ।