• २६ वैशाख २०८१, बुधबार

बजारको खोजीमा ४० हजार सुन्तलाका विरुवा

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ १८ गते । मंगला गाउँपालिका ४ बरङ्जाका कृषक रेशम बुढाथोकीको नर्सरीमा ४० हजार सुन्तलाका विरुवा विक्रीका लागि तयारी अवस्थामा रहे पनि आशा गरे अनुसार विक्री नभएको बताइएको छ । अघिल्ला वर्ष विरुवा सहजै विक्री हुनेगरेका थिए यसपाली विक्री नभएकाले परिश्रम खेरजाला जस्तो भएको उहाँले गुनासो गर्नुभयो । 

साढे एक रोपनीको जग्गामा संचालन भएको नर्सरीमा सुन्तलाका साथै ओखर, कागती र टिमुरका विरुवाहरु पनि उत्पादन भएका छन् । १८ महिनाका २५ हजार र ३२ महिनाका करिव १५ हजार सुन्तलाका विरुवा विक्रीका लागि तयारी अवस्थामा रहेको बुढाथोकीले बताउनुभयो । 

नर्सरीमा लोकल बाँसखर्क जातको सुन्तलाका विरुवा छन् । नर्सरीमा उत्पादन गरिएका सुन्तलाका विरुवाको परीक्षण (पिसिआर)पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा विरुवामा कुनै प्रकारको रोग नदेखिएको उहाँले बताउनुभयो । 

एकहजार ६३० मिटरको उचाईमा उत्पादन गरिएको विरुवा भएकाले उत्पादन राम्रो दिने उहाँको भनाइ छ । २०६९ सालदेखि व्यवसायिक कृषि पेशा अंगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तला सँगै ओखरका विरुवा १२ सय, कागतीका विरुवा चा हजार, टिमुरका विरुवा चार हजार डालेघाँसलगायतका विरुवाहरु तयारी अवस्थामा रहेका छन् । 

बरंजा नर्सरी तथा पशुपंक्षीपालन फर्म दर्ता गरी व्यवसायिक कृषि पेशामा लाग्नुभएका बुढाथोकीको नर्सरीमा हालसम्म करिव ४० लाख रुपियाँ लगानी पुगेको छ । गत आर्थिक वर्षमा कृषि ज्ञानकेन्द्र बेनीबाट प्राप्त ५ लाख अनुदानले दुई वटा ग्रीनहाउस निर्माण गरेको बुढाथोकीले बताउनुभयो । 

त्यस्तै, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट दुई लाख ५० हजार बराबरको कृषि सामाग्री सहयोग प्राप्त भएको उहाँको भनाइ छ । 

‘करिव १५ हजार सुन्तलाका विरुवा गत वर्षकै छन्, यी सबै पोहोर नै विक्री भइसक्नु पर्ने थियो, तर अहिलेसम्म पनि कोही खोज्न आएका छैनन्’, बुढाथोकीले भन्नुभयो, “वडा, पालिका तथा अन्य कार्यालयले जिल्ला बाहिरबाट सस्तोमा विरुवा लिएर वितरण गर्दा मलगायत यहाँका नर्सरी कृषकहरु प्रत्यक्ष मारमा परेका छौँ” । उहाँले नर्सरीबाट वार्षिकक रुपमा पाँच लाख रुपियाँ आम्दानी गर्दै आउनुभएको छ ।