• १६ चैत २०८०, शुक्रबार

नौबस्ता औद्योगिक क्षेत्रको जग्गा अतिक्रमणका कारण निर्माण अलपत्र

blog

नौबस्ता औद्योगिक क्षेत्रको कार्यालयमा लगाइएको बोर्ड । तस्विर - सिराज खान


नेपालगञ्ज, जेठ १८ गते । बाँकेको नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणस्थलको जग्गाको अतिक्रमण हटाउन नसक्दा सो जग्गा संरक्षणमा चुनौती बढ्दै गएको छ । औद्योगिक क्षेत्रको निर्माण कार्य अलपत्र परेको छ । 

प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका–३ मा छुट्याइएको ३३८ बिघा क्षेत्रफल जमिनभित्रै २६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । 

सो कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार पटक पटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन । 

स्थानीयको अवरोधकै कारण परियोजनाको काम सुरु नहुँदा औद्योगिक क्षेत्रको जमिनमा घरटहरा थपिने क्रम पनि बढेको पाइएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको तथ्यांकमा २६८ घर टहरा रहे पनि त्यहाँ बसोबास गर्दै आएका स्थानीयले सो संख्या बढेको बताएका छन् । 

सरकारले गत आर्थिक वर्षमा नौबस्ता औद्योगिक क्षेत्रमा जग्गा विकास कार्य गर्न ७५ करोड, वन व्यवस्थापनका लागि दुई करोड र प्रशासकीय भवन निर्माणका लागि एक करोड विनियोजन गरेको थियो । तर, काम शुरु नहुँदा सो रकम अन्यत्र रकमान्तर गरिएको थियो । 

आगामी आर्थिक वर्षका लागि पनि सरकारले सो औद्योगिक क्षेत्रका लागि बजेट विनियोजन गरे पनि काम हुने नहुने केही पनि निश्चित नरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । 

औद्योगिक क्षेत्रको जग्गामा रहेको बस्ती व्यवस्थापनका लागि पटक पटकको प्रयास गरे पनि सफल हुन नसकेपछि निर्माण कार्य अगाडि बढ्न नसकेको हो । छ् वर्ष बितिसक्दासम्म परियोजनाको डीपीआर र इआइएबाहेक अरू कुनै काम गर्न नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख पुनले बताउनुभयो ।

उहाँकाअनुसार नौबस्ता औद्योगिक क्षेत्रको डीपीआर बमोजिम त्यहाँ तीन सय उद्योग स्थापना हुनेछन् । ३५० बढी उद्योगी व्यवसायीले उद्योग सञ्चालनका लागि आशयपत्रसमेत दर्ता गरिसकेका छन् ।  

उता, नेपालगञ्ज उद्योग वाणिज्य संघले पनि सो औद्योगिक क्षेत्रको काम द्रुतरूपमा अघि बढाउनका लागि पटक पटक दबाव दिँदै आएको छ । औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हटाएर काम शुरु गर्न पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको गुनासो छ । 

उहाँले नेपालगञ्ज औद्योगिक क्षेत्रमा उद्योग खोल्न जग्गा समाप्त भैसकेकाले नौबस्ता औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सञ्चालनका लागि उद्योगीको दबाव बढ्दै गएको बताउनुभयो । २०७२ साल चैत १ गते नौबस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्ने सरकारले निर्णय गरेको थियो ।


Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।