• २५ वैशाख २०८१, मङ्गलबार

भारतका चर्चित गायक केकेकाे हृदयाघातको कारण निधन

blog

गाेरखापत्र अनलाइन

काठमाडाैं, जेठ १८ गते । भारतका चर्चित गायक ५३ वर्षीय केके (कृष्णकुमार कुन्नथ) मंगलबार राति हृदयाघातको कारण निधन भएको छ । कोलकातामा लाइभ कन्सर्टमा प्रस्तुति दिएलगत्तै उहाँको हृदयाघातको कारण निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

कन्सर्ट प्रस्तुतिपछि होटलमा पुगेका उहाँको स्वास्थ्य बिग्रिएपछि तत्कालै उहाँलाई कोलकाता मेडिकल रिसर्च इन्स्टिच्युटमा लगिएको थियो । अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भयो ।

अप्राकृतिक मृत्युबारे कोलकोतामा पुगेपछि उहाँको परिवारले सम्बद्ध निकायमा निवदेन दिनुभएको छ ।उहाँको परिवारको अनुमतिमा कोलकोतामा पोष्टमार्टम हुनेछ । उहाँको शवलाई मुम्बइ लग्ने बताइएको छ । मृतक केकेका एक श्रीमति र दुईजना बच्चा रहेका छन् । 

पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जीले मृतकका परिवारलाई हरप्रकारले सहयोग गर्ने बताउनुभयो छ । बलिउडसहित तमिल, तेलुगू, कन्नड, मराठी, बंगाली र गुजराती फिल्ममा समेत उनले गीत गाउनुभएकाे थियाे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन् । विभिन्न भाषामा पनि गीत गाउन माहिर रहनुभएका केकेका हम दिल दे चुके सनम, तडप तडपलगायतका गीत चर्चित रहेका छन् ।