साहारा लिम्बू
फुङलिङ, फागुन २६ गते । ढाका कपडा बुनाइबाट वार्षिक पाँच लाख आम्दानी हुने गरेको छ । वचनकुमारी नाल्बो लिम्बूले ढाका कपडा बुनेर नै वार्षिक पाँच लाखको हाराहारीमा आम्दानी गरिरहनुभएको छ ।
ताप्लेजुङ जिल्ला मेरिङदेन गाउँपालिका ४ लिङतेप घर भई हाल फुङलिङ नगरपालिका वडा नं ७ मा सोनी ढाका कपडा उद्योग सञ्चालन गर्दै आउनुभएकी वचनकुमारी नाल्बोले ढाकाबाट नै जीविकोपार्जन गर्नुभएको छ ।
५२ वर्षीया लिम्बू विगत २२ वर्ष अघिदेखि नै ढाका बुन्दै आएको बताउनुहुन्छ । करिब आठ वर्ष अघिदेखि भने उहाँ आफैंले उद्योग सञ्चालनमा ल्याएर मनग्गे आम्दानी गरिरहनुभएको छ । योसँगै उहाँले पाँच जना महिलालाई रोजगारीसमेत प्रदान गर्नुभएको छ ।
उहाँको ढाका कपडा उद्योगमा साडी, चौबन्दी चोली, कोट, सर्ट, मेख्ली, बर्की, टोपी लगायतका कपडा तयार हुन्छ । एउटा साडीको मूल्य न्यूनतम पाँच हजारदेखि १० हजारसम्म पर्ने उहाँको भनाइ छ । अहिले सबैभन्दा धेरै साडीको नै माग रहेको पनि लिम्बूले बताउनुभयो ।
ढाका कपडा मिटरको भने एक हजार दुई सयदेखि एक हजार पाँच सय पर्ने गर्दछ । ढाका कपडाको अर्डर धेरै काठमाडौँबाट आउने गरे पनि उद्योगबाट नै बिक्री भइसक्ने लिम्बू बताउनुहुन्छ । बालबालिकादेखि युवा पुस्ताका लागि विभिन्न पहिरन तयार हुने भएका कारण पनि अहिले ढाका कपडा सबैको रोजाइ बनेको छ । यही कारण पनि ढाका कपडाले राम्रो बजार पाएको छ ।
हेर्दा सामान्य देखिने तान, अनि थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने एउटा माध्यम भएकोले आफूले ढाका उद्योग नै रोजेको लिम्बूको भनाइ छ । यस्तै ढाका कपडा उद्योगले घरेलु तथा साना उद्योग कार्यालयबाट पनि राम्रो अवसर पाएको लिम्बू सुनाउनुहुन्छ । जहाँ जहाँ औद्योगिक मेला हुन्छ त्यहाँ घरेलु तथा साना उद्योग कार्यालयको समन्वयमा ढाका कपडा प्रदर्शनीमा गएर ढाका कपडा बिक्रीसँगै आफ्नो सीप क्षमतालाई प्रदर्शन गर्न सकिने उहाँको भनाइ छ ।
लिम्बूले ढाका कपडा उद्योगबाट पैसासँगै सम्मान पनि उत्तिकै पाउनुभएको छ । विगत लामो समयदेखि उद्यमी भई अरूलाई पनि उद्यमी व्यवसायी बन्न प्रेरित गरेको भन्दै उहाँलाई गत साल सामाजिक विकास मन्त्रालय कोशी प्रदेशले सम्मान गरेको थियो ।